मिर्गौला प्रत्यारोपणपछि सगरमाथा चढ्ने पेम्बाको साहसिक यात्रामा एनसेलको साथ

मिर्गौला प्रत्यारोपणपछि सगरमाथा चढ्ने पेम्बाको साहसिक यात्रामा एनसेलको साथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मिर्गौला प्रत्यारोपण गरेका पेम्बा शेर्पाले सगरमाथाको सफल आरोहण गरेर हासिल गरेको ऐतिहासिक उपलब्धिमा एनसेल फाउन्डेसन उनीप्रति हार्दिक सम्मान प्रकट गरेको छ ।

मिर्गौला प्रत्यारोपण पछि सगरमाथाको सफल आरोहण गर्ने पेम्बा पहिलो व्यक्ति हुन् ।

ऐतिहासिक सफलता साहस, संकल्प र शक्तिको उदाहरण मात्र नभई, दृढ संकल्पका साथ देखिएका सपना असम्भव छैन भन्ने सशक्त सन्देश पनि रहेको एनसेलले जनाएको छ । उनले वैशाख ३१ गते बिहान सगरमाथाको शिखर चुम्न सफल भएका थिए ।

‘पेम्बा शेर्पाको साहसी यात्रामा सहभागी भई आवश्यक सहयोग गर्न पाएकोेमा एनसेल फाउन्डेसन गर्व महसूस गर्दछ । यो यात्रा एक व्यक्तिगत विजय मात्र नभई शारीरिक चुनौती भोगिरहेकाहरूका लागि आशाको उज्यालो साबित भएको छ र मानिसहरूमा रहने असिम सम्भावनाहरूलाई पुष्टि गरेको छ,’ एनसेलले भनेको छ, ‘यात्राले जलवायु परिवर्तनका कारण संकटमा परेका हिमालहरूको संरक्षणको लागि जनचेतना फैलाउने महत्त्वपूर्ण कार्य गरेको छ ।’

‘सगरमाथा आरोहणभरि मेरो स्वास्थ्य सबल रह्यो । यस यात्रामा मैले विश्वभरका ८५ करोडभन्दा बढी मिर्गौला रोगीहरूको आशा बोकेर सगरमाथाको चुचुरोमा पाइला राखें र ईच्छा गरेमा केही पनि असम्भव छैन भन्ने कुरालाई पूरा गर्न सफल भएँ । यो यात्रा पग्लिँदै गएको हाम्रो हिमाल जोगाउनका लागि पनि एउटा सन्देश थियो । मैले धेरैलाई गुहारें तर मेरो सपनालाई एनसेल फाउन्डेसनले मात्र विश्वास गरेर सम्भव बनायो । म साथ र समर्थनका लागि हृदयदेखि आभारी छु,’ सगरमाथाको सफल आरोहणपछि आफ्नो उत्साह प्रकट गर्दै पेम्बा शेर्पाले भने ।

‘पेम्बा शेर्पाको यस ऐतिहासिक सफलताका लागि हामी उहाँलाई हार्दिक बधाई दिन चाहन्छौं । उहाँको यात्रा प्रेरणा, सहनशीलता र प्रतिबद्धताको कथा हो – यो केवल एक व्यक्तिगत लक्ष्यप्राप्ति मात्र नभई विश्वव्यापी जलवायु मुद्दाप्रति एक आह्वान पनि हो । यस महत्त्वपूर्ण यात्राको सहयात्री हुन पाएकोमा हामी निकै खुशी छौं,’ एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।

हिमालहरू केवल आरोहण गरेर सफलता चुम्ने शिखरहरू मात्र होइनन्, तिनीहरू हाम्रो पर्यावरणको प्रतीक हुन् र संरक्षणका लागि हामी सबैले मिलेर प्रयास गर्नुपर्छ भन्ने सन्देश पेम्बा शेर्पाको आरोहणले विश्वलाई दिएको छ ।

एनसेल फाउन्डेसन समाजमा सकारात्मक परिवर्तनका लागि एक उत्प्रेरकको रूपमा उभिएको छ । समुदायमा अर्थपूर्ण परियोजनाहरूमार्फत दीगो प्रभाव पार्ने मुलमन्त्रमा आधारित फाउन्डेसन, एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) पहल मात्र नभई देशभरका समुदायहरूलाई सशक्त र समावेशी बनाउनका लागि योगदान पुर्‍याउन प्रतिबद्ध रहेको छ ।

काठमाण्डु उपत्यकाजस्ता शहरी क्षेत्रदेखि लिएर पहाड र तराईका दूरदराजका गाउँसम्म, फाउन्डेसनले डिजिटल डिभाइड घटाउने, स्वास्थ्य र शिक्षामा पहुँच विस्तार गर्ने र समावेशीतालाई प्रवद्र्धन गर्ने जस्ता कार्यहरूमार्फत विकास र परिर्वतनका लागि कार्य गर्दै आएको छ । आमजनमानससँग मात्र नभई सामाजिक हितका उद्देश्य, संस्कृति र विकाससँग पनि गहिरो रूपमा जोडिन फान्डेसन प्रतिबद्ध रहेको जनाइएको छ ।

हालसम्म २ अर्ब रुपैयाँभन्दा बढीको सामाजिक योगदान दिँदै एनसेलले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा १ करोड ३० लाखभन्दा बढी मानिसको जीवनमा विभिन्न सामाजिक पहलमार्फत सकारात्मक प्रभाव पारेको जनाएको छ ।