एनसेलले अब नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

एनसेलले अब नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एनसेलले आमउपभोक्ताको सुविधाका लागि अब नयाँ नम्बर रेन्ज ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउने भएको छ ।

साउनको दोस्रो हप्ताभित्रै नयाँ सिमहरू वितरण थाल्ने तयारी रहेको कम्पनीले जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ गते एनसेललाई यो नम्बर रेन्जको नम्बरहरू वितरण गर्नका लागि अनुमति प्रदान गरेको थियो । प्राधिकरणद्वारा एनसेललाई जारी नम्बर रेञ्ज ९८०, ९८१, ९८२, ९७० मार्फत सेवाग्राहीहरूका लागि सेवा प्रदान गर्नका लागि मोबाइल नम्बरहरू अपुग भएकाले नयाँ नम्बर रेञ्ज प्रदान गरिएको छ ।

नयाँ नम्बर रेञ्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ वितरण योजना (नेसनल नम्बरिङ अलोकेसन प्लान)को नियम अनुरूप जारी भएको छ । दूरसञ्चार सेवाहरूबाहेक विभिन्न महत्वपूर्ण कामहरू जस्तै वान टाइम पासवर्ड (ओटीपी) लिन, मोबाइल एप र वेबमा आधारित सेवाहरूका लागि साइन अप गर्न लगायत विभिन्न डिजिटल कारोबार गर्दा मोबाइल नम्बरको ठूलो आवश्यकता रहन्छ ।

एनसेलले विभिन्न सेवा प्रदायक कम्पनी, सरकारी तथा गैरसरकारी संस्था, कार्यालय, बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नम्बर रेञ्जलाई हाल सञ्चालनमा रहेका अन्य रेञ्जसरह ग्राहक सेवाका लागि आ–आफ्नो प्रणालीमा इन्ट्रिगेट/अपडेट गर्न अनुरोध गरेको छ ।