एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एनसेलले डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा एकै ठाउँबाट उपलब्ध गराउने गरी ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु गरेको छ।

नेपालभरिका व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था तथा विभिन्न सङ्गठनलाई लक्षित गर्दै यो प्लेटफर्म ल्याइएको हो।

क्लाउडसुइटमार्फत ग्राहकले डोमेन दर्ता, वेबसाइट होस्टिङ तथा आफ्नो अनलाइन उपस्थितिको व्यवस्थापन एकीकृत प्लेटफर्मबाट गर्न सक्नेछन्।

यसमा डोमेन नवीकरण, ट्रान्सफर सहयोग, डीएनएस व्यवस्थापन, डोमेन फर्वार्डिङ, सबडोमेन व्यवस्थापन र केन्द्रीकृत डोमेन प्रशासनलगायत सुविधा उपलब्ध छन्।

एनसेलका अनुसार क्लाउडसुइटमा विदेशी मुद्रामा अन्तर्राष्ट्रिय होस्टिङ सेवा खरिद गर्नुपर्ने बाध्यता हटाइएको छ। ग्राहकले अब यी सेवाको शुल्क नेपाली रुपैयाँमै भुक्तानी गर्न सक्नेछन्।

कम्पनीले वेब होस्टिङका लागि दुईवटा प्याकेज सार्वजनिक गरेको छ। बेसिक प्याकेजको मासिक शुल्क १ हजार रुपैयाँ रहेको छ। यसमा ३ जीबी साझा स्टोरेज, व्यावसायिक इमेल खाता, एसएसएल सर्टिफिकेट, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधा समावेश छन्।

त्यस्तै, बढ्दो डिजिटल आवश्यकता भएका व्यवसायलाई लक्षित प्रो प्याकेजको मासिक शुल्क २ हजार रुपैयाँ तोकिएको छ।

यसमा बढी स्टोरेज र डेटा ट्रान्सफर, २० वटासम्म व्यावसायिक इमेल खाता, १० वटा डेटाबेस, पाँच वटासम्म सबडोमेन, एसएसएल सर्टिफिकेट, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधा उपलब्ध हुने एनसेलले जनाएको छ।

एनसेलका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सिओले क्लाउडसुइट नेपालका व्यवसायलाई बलियो र व्यावसायिक डिजिटल उपस्थिति बनाउन सहयोग गर्ने बताए।

उनका अनुसार डोमेन नाम र भरपर्दो वेब होस्टिङ डिजिटल यात्राका आधारभूत आवश्यकता हुन्। स्थानीय पूर्वाधार, नेपाली मुद्रामा भुक्तानी र नेपालभित्रै डेटा होस्टिङको सुविधा दिएर व्यवसायलाई डिजिटल क्षेत्रमा थप आत्मविश्वास र नियन्त्रणका साथ अघि बढ्न सहज बनाउने उद्देश्य रहेको उनले बताए।

एनसेलका अनुसार क्लाउडसुइट प्रयोग गर्दा वेबसाइट होस्टिङ तथा डेटा नेपालभित्रै रहनेछ। यसबाट ग्राहकले आफ्नो वेबसाइट डेटा र डिजिटल सम्पत्ति देशभित्रै राख्न सक्ने तथा आफ्नो डेटामाथि थप नियन्त्रण कायम गर्न सक्ने कम्पनीको दाबी छ।

साथै, नियामक आवश्यकताहरू पूरा गर्न पनि यसले सहज हुने एनसेलले जनाएको छ।