काठमाण्डु – एनसेलले प्रदेशस्तरमा सञ्चालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिका–४ ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।
शिविरमा ३०० भन्दा बढी स्थानीयले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरूको लाभ लिएका छन् ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको शिविरमा मानिसहरूले मुटुरोग सम्बन्धी विशेषज्ञ डाक्टरहरूबाट मुटुरोग लगायत अन्य विभिन्न रोगका विशेषज्ञसँग परामर्श लगायत ईसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका छन् ।
शिविरमा आएका सेवाग्राहीले परामर्श अनुसारको आवश्यक निःशुल्क औषधिहरू पनि पाएका थिए । एनसेलले भनेको छ, ‘स्वास्थ्य शिविरले स्वास्थ्य सम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरूका साथ समस्यासँग जुध्न मद्दत गर्दछ । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा सञ्चालन गरेको यो दोस्रो निःशुल्क स्वास्थ्य शिविर हो । यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका–३ फुलिका स्वास्थ्य चौकीमा यसै किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । यसका साथै एनसेलले कपिलवस्तुका अन्य ३ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नेछ ।’
‘एनसेल एक जिम्मेवार कर्पाेरेट नागरिक हो र हामी समुदायका मानिसहरूका लागि फाइदा हुने काम गर्न सधंै प्रतिबद्घ रहेका छौं । यसै अनुरूप हामीले सातै प्रदेशमा विभिन्न स्थानीय समुदायका मानिसहरूलाई ध्यानमा राख्दै विभिन्न सामाविक विकासका कार्यहरू गर्दै आएका छांै । हाम्रा परियोजनाहरूले समुदायको विकासका लागि योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौं,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन् ।
एनसेलले सीएसआर अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरू सञ्चालन गरिरहेको छ । कम्पनीले गत वर्ष आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘एटीन फर एटीन’ अर्थात १८औं वर्षको लागि १८ वटा सामाजिक पहलहरूका लागि आवेदन खुला गरेको थियो । यसै पहल अन्तर्गत सातै प्रदेशमा विकास कार्यहरू कार्यान्वयन भइरहेका छन् ।
‘एटीन फर एटीन’ कार्यक्रम अन्तर्गत परियोजना सञ्चालन गर्नका लागि प्रतिपरियोजना १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ ।
एनसेलले आफ्नो स्थापनापश्चात शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्बभन्दा बढी योगदान गरिसकेको छ । कम्पनीले देशको एक सबैभन्दा ठूला करदाताका रूपमा अर्थतन्त्रमा प्रभावकारी योगदान दिँदै स्थापनाकालदेखि गत आर्थिक वर्ष २०८०/८१ सम्ममा सरकारलाई कर तथा गैरकर गरी ३२० खर्बभन्दा बढी राजस्व तिरिसकेको छ ।
प्रतिक्रिया