काठमाण्डु – दूरसञ्चार कम्पनी एनसेलले पहिलोपटक दिनको ३० रुपैयाँभन्दा कममा नै अनलिमिटेड भ्वाइस र डेटा सेवा लिन सकिने प्याकहरूसहित विभिन्न नयाँ प्याकहरू सञ्चालनमा ल्याएको छ ।
आम ग्राहकहरूमाझ बढ्दो भ्वाइस र डेटा सेवाको मागलाई ध्यानमा राख्दै एनसेलले यी नयाँ प्याकहरू सञ्चालनमा ल्याएको छ ।
भ्वाइस सेवामा एनसेलले ३९ देखि ५९९ रुपैयाँसम्म शुल्क पर्ने ६ वटा नयाँ प्याकहरू सार्वजनिक गरेको छ, जसमा ७ दिनको लागि मात्र १९८ रुपैयाँमा उपलब्ध अनलिमिटेड अल नेपाल प्याक पनि समावेश छ । प्याकमार्फत ग्राहकहरूले दिनको मात्र २८.३ रुपैयाँमा अनलिमिटेड भ्वाइस कल सेवाको फाइदा लिन सक्ने जनाइएको छ ।
एनसेलबाट एनसेलमा कल गर्न टक टाइम चाहिने ग्राहकहरूले ३ दिनका लागि मान्य अनलिमिटेड डे अन नेट प्याक लिन सक्छन्, जसको मूल्य मात्र ५० रुपैयाँ रहेको छ । ५९९ रुपैयाँमा ग्राहकहरूले ८४ दिन अर्थात झण्डै ३ महिनासम्म प्रयोग गर्न मिल्ने ९९९ मिनेटको कुनै पनि नेपाली नेटवर्कमा कल गर्न मिल्ने अल नेपाल टक टाइम प्राप्त गर्न सक्छन् ।
भारतमा फोन गरी सम्पर्कमा रहिरहनुपर्ने ग्राहकहरूलाई लक्षित गर्दै एनसेलले ४९ रुपैयाँमा २८ दिनसम्म मान्य रहने इन्टरनेसनल लङ डिस्ट्यान्स (आईएलडी) प्याक सञ्चालन गरेको छ, जसअन्तर्गत ग्राहकहरूले भारतमा प्रतिमिनेट मात्र २.९९ (कर बाहेक) मा फोन गर्न सक्छन् । यो दर हाल लाग्दै आएको शुल्कभन्दा २५ प्रतिशत सस्तो रहेको एनसेलले जनाएको छ ।
सस्तो शुल्कमा बढी मोबाइल डेटाको माग बढिरहेको अवस्थालाई ध्यानमा राख्दै एनसेलले २ आकर्षक प्याकहरू सार्वजनिक गरेको छ । ९९ रुपैयाँ पर्ने पहिलो प्याकमा ग्राहकहरूले ३ दिनसम्म अनलिमिटेड डेटा लिन सक्छन् । २ हजार ४९९ रुपैयाँ शुल्क रहेको दोस्रो प्याकमा ग्राहकले ८४ दिनसम्म अनलिमिटेड डेटाको फाइदा लिन सक्छन् । यसले अनलिमिटेड डेटाको प्रतिदिनको खर्च मात्र २९.८ रुपैयाँमा झारेको छ ।
आफ्नो लोकप्रिय सधैं अन प्याकअन्तर्गत एनसेलले १ हजार ९९९ रुपैयाँमा २८ दिनसम्म मान्य रहने अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस सेवा रहेको प्याक सञ्चालनमा ल्याएको छ । ग्राहकहरूलाई १ हजार १९९ रुपैयाँमा ८४ दिनका लागि १ हजार १९९ मिनेट अल नेपाल टक टाइम, २५ जीबी डेटा र ९९ एसएमएस पाइने अर्को प्याक पनि उपलब्ध गराएको छ ।
ग्राहकहरूले यी प्याकहरू ८१२३३ डायल गरेर, एनसेल एपमार्फत वा नजिकैको एनसेल पसल वा सेन्टरबाट लिन सक्छन् । ‘यी नयाँ अनलिमिटेड भ्वाइस, डेटा प्याकहरू र अन्य प्याकहरूमार्फत हामी सबैका लागि कनेक्टिभिटी अझ सहज र सस्तो बनाउँदैछौं । हामी हाम्रा ग्राहकलाई उनीहरूको डिजिटल जीवनशैलीसँग मेल खाने गरी सेवा प्रदान गर्दै, कनेक्टेड नेपालको निर्माणमा योगदान दिन प्रतिबद्ध रहेका छौं,’ एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले भने ।
आफ्ना ग्राहकहरूलाई थप लाभ सुनिश्चित गर्दै एनसेलले हाल जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा सधैं अन रिन्यूअल ल्याक र साना डेटा प्याकहरूमा आकर्षक बोनसहरू पनि प्रदान गर्दै आएको छ । एनएसएल डबल डेटा अफरअन्तर्गत ३९९ रुपैयाँबाट सुरु हुने सधैं अन रिन्यूअल प्याकमा ग्राहकहरूले बोनसको रूपमा डबल डेटा प्राप्त गर्दछन् । एनसेल एपमार्फत खरिद गरिने ५० रुपैयाँको अनलिमिटेड डेटा र १५० रुपैयाँको डबल मजा प्याकमा ग्राहकहरूले क्रमशः एनसेलबाट एनसेल नम्बरमा कल गर्न मिल्ने २० मिनेट टक टाइम र २ जीबी बोनस डेटा प्राप्त गर्ने जनाइएको छ ।
प्रतिक्रिया