एनसेल लुट्नकै लागि ! थाहापत्तो नदिई करोडौं पैसा काट्ने गरेको खुलासा


काठमाडौं – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको नारा छ, ‘एनसेल नेपालकै लागि’ । तर एनसेलका कतिपय गतिविधि देखेर वाक्क भएका ग्राहकले भन्ने गर्छन्, ‘एनसेल लुट्नकै लागि’ ।

ग्राहकले भन्ने गरे अनुसार एनसेलले ग्राहकमाथि लुट मच्चाइरहेको खुलासा भएको छ । अनाधिकृत रुपमा विभिन्न सेवा सञ्चालन गर्दै ग्राहकमाथि ठगी गरेको पुष्टि भएपछि नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई जरिवाना गर्ने निर्णय गरेको छ ।

करयोग्य कारोबार गरेर पनि कर तिर्न आनाकानी गर्ने गरेका कारण अदालतले मुद्दादेखि सरकारी विवादसम्ममा पर्ने गरेको छ एनसेल । ग्राहकबाट अर्बाैं रुपैयाँ संकलन गरेपनि एनसेलले सरकारलाई कर तिर्न आनाकानी गर्छ । जसले गर्दा एनसेल सर्वसाधारणको नजरमा बदनाम पनि छ । पछिल्लो पटक एनसेलले नियामक निकायलाई थाहापत्तो नै नदिई ग्राहकबाट करोडौं रुपैयाँ ठगी गर्ने गरेको खुलासा भएको छ ।

एनसेलले अनुमति विना नै भ्यालु एडेड सर्भिस (भास) सञ्चालनमा ल्याएर ठगी गरेपछि प्राधिकरणले जरिवाना गर्ने निर्णय गरेको छ । प्राधिकरणले एनसेललाई साढे १० लाख रुपैयाँ जरिवाना गरेको छ । अर्बाैं कमाउने एनसेलका लागि जरिवाना रकम थोरै भएपनि उसले गरिरहेका अनेक ठगीका रुपलाई प्राधिकरणले नाङ्गेझार गरिदिएको छ ।

एनसेलले अनाधिकृत रुपमा सेवा सञ्चालन गरेपनि जरिवाना गर्ने निर्णय गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताएका छन् । एनसेलमाथि छानबिन गर्दा अनुमति पत्रको शर्त विपरीत सेवा दिएको, अनुमति विना नै ‘लभ डिटेक्टर’ र ‘भ्वाइस म्याजिक’ भ्यालू एडेड सर्भिस (भास) सञ्चालनमा ल्याएको निष्कर्ष प्राधिकरणले निकालेको छ । अनुमति पत्रले तोकेको शर्त उल्लंघन गर्दै विभिन्न सेवा अफर सञ्चालन गरेर एनसेलले ग्राहकमाथि ठगी गरेको सरकारी ठहर छ । एनसेलले होली अफर, भ्यालेन्टाइन अफर, शिवरात्री अफर लगायत अफर अवैध रुपमा सञ्चालन गरेर ग्राहकको पैसा काट्ने गरेको पुष्टि भएको छ ।

प्राधिकरण बोर्डले दूरसञ्चार ऐन २०५३ को दफा ४७ अनुसार एनसेललाई अधिकतम रकम ५ लाख रुपैयाँ जरिवाना गरेको छ । ऐनको दफाको २ नम्बरमा ऐन बमोजिम अनुमति अलिई वा अनुमति पत्रमा उल्लिखित शर्तको पालना नगरी दूरसञ्चार सेवा सञ्चालन गरेमा प्राधिकरणले ५ लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ । एनसेलले यसरी अवैध रुपमा सेवा सञ्चालन गर्दा करोडौं रुपैयाँ ठगी गरेपनि ऐनको संकुचनका कारण उसलाई ५ लाख मात्रै जरिवाना गरिएको छ ।

एनसेलले ‘लभ डिटेक्टर’ सेवाबापत ग्राहकबाट १४ करोड रुपैयाँभन्दा बढी रकम असूल गरेको प्राधिकरणले जनाएको छ । अनुमति नै नलिई ल्याएको सेवा ‘भ्वाईस म्याजिक’मार्फत एनसेलले ग्राहकबाट झण्डै १८ करोड रुपैयाँ आम्दानी गरेको अनुसन्धानबाट पुष्टि भएको छ । अवैध रुपमा सेवा सञ्चालन गरी ग्राहकबाट ३२ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्राधिकरणले एनसेलमाथि कारवाही गरेको हो ।

प्राधिकरणको बोर्ड बैठकले सेवा सञ्चालन गर्न अनुमति नै नलिएको र विकृति ल्याउने सेवा भएकाले यसप्रकारका काम तत्काल बन्द गर्न निर्देशन समेत दिएको छ । विगत २ वर्षदेखि अटो रिन्यूको नाममा एनसेलले ग्राहकबाट रकम असुलेको अर्को आरोपमा प्राधिकरणले एनसेललाई थप ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

एनसेलको भास ग्राहकको मोबाइलमा स्वचालित रुपमा सुरू हुने र स्वचालित रुपमै नविकरण समेत हुने गरेको समेत पाइएको अनुसन्धानबाट पुष्टि भएको छ । यसरी स्वचालित रुपमा नविकरण हुँदा ग्राहकले थाहा नै नपाई पैसा काटिने गरेको छ । यसरी नियामक निकायबाट अनुमति नै नलिई ग्राहकलाई थाहै नै नदिई पैसा काटिनु गम्भीर लुट भएको ठहर गर्दै प्राधिकरणले यस्तो अवैध कार्य तत्काल रोक्न एमसेललाई निर्देशन दिएको छ ।

एनसेलले ग्राहकमाथि गरिरहेका लुटको अझै छानबिन बाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ । कोरोना महामारीसँगै लकडाउन सुरू भएपछि समेत एनसेलले विभिन्न नयाँ सेवाको नाममा ग्राहकलाई थाहा नै नदिई पैसा काट्दै आएको गुनासो आउन थालेको छ । ग्राहकलाई थाहै नदिई सेवा एक्टिभ गर्ने र अटो रिन्यूको नाममा ग्राहकको पैसा सक्ने गरेको गुनासो आएकाले थप छानबिन भइरहेको प्राधिकरणले जनाएको छ ।

एनसेलले राजनीतिक पहुँच विस्तार गर्दै आफ्ना काला कर्तुतलाई लुकाउन सफल भइरहेको बेला पछिल्लो पटक चाहिँ कारवाही र जरिवाना भोग्न तयार हुनुपरेको छ । एनसेलले वर्षाैंदेखि ग्राहकमाथि लुट मच्चाइरहेको गुनासो सुनिने गरेपनि कुनै कारवाही प्रक्रिया अगाडि बढ्ने गरेको थिएन ।

प्रतिक्रिया दिनुहोस
Advertisement