प्रधानमन्त्रीको भ्रमणलाई लिएर सुदुरपश्चिम नेकपाभित्र कलह


धनगढी — प्रधानमन्त्रीको सुदूरपश्चिम भ्रमणको विषयलाई लिएर पार्टीभित्र विवाद देखिएको छ । ४ दिनअघि नेकपा सुदूरपश्चिम प्रदेश सचिवालयको बैठकमा सहभागी हुन काठमाडौंबाट प्रदेश इन्चार्ज भीम रावल, स्थायी कमिटी सदस्य लेखराज भट्ट र प्रदेश अध्यक्ष कर्ण थापा एकसाथ धनगढी आए ।
५ सदस्यीय सचिवालयका सबै सदस्य पार्टीको प्रदेश कार्यालयमा५ घण्टासम्म छलफलमा पनि बसे ।

पदाधिकारीले बैठकको निर्णय पुस्तिकामा हस्ताक्षर गरे पनि अध्यक्ष कर्ण थापाले भने गरेनन् । ‘त्यो बसाई बैठक नभई अनौपचारिक छलफल मात्र हो,’ थापाले भने । नेताहरू बैठककै लागि एकसाथ धनगढी उत्रेका भए पनि दोस्रो बिहान अध्यक्ष थापाले ‘बैठक नभई अनौपचारिक छलफल मात्रै’भएको भनेपछि विवाद बढेको हो ।

सह–इन्चार्ज लक्ष्मणदत्त जोशीका अनुसार बैठक ३ वटा प्रस्तावमाथिको छलफलमा केन्द्रित थियो । त्यसक्रममा एउटा प्रस्ताव थियो, ‘स्थगित भएको प्रधानमन्त्रीको सुदूरपश्चिम प्रदेश भ्रमण ।’ इन्चार्ज रावलले पार्टीका दुवै केन्द्रीय अध्यक्षसँग परामर्श गरेर मात्रै धनगढी भेलाको मिति तय गर्नु उचित हुने बताएका थिए ।

अन्य पदाधिकारीसमेत रावलकै धारणामा सहमत देखिएका थिए । तर अध्यक्ष थापा भने उहाँहरूमा प्रधानमन्त्रीको भ्रमण हुन नदिने मनसाय देखिएकाले निर्णय पुस्तिकामा हस्ताक्षर नगरेको बताउँछन् । यता रावल भने अध्यक्ष थापा झुटो प्रचार गर्दै हिँडेको बताउँछन् । रावलले भने, ‘सुरुदेखि नै प्रधानमन्त्रीसहित दुवै अध्यक्षलाई सुदूरपश्चिम भ्रमणमा निम्त्याउनुपर्छ भन्ने मै हुँ ।’

यसअघि माघ २० गते प्रधानमन्त्रीद्वारासुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन लगायतका कार्यक्रमको कार्यतालिका तय भएको थियो । त्यही बेला दुवै अध्यक्षद्वारा प्रदेशका कार्यकर्तालाई प्रशिक्षण कार्यक्रमसमेत निर्धारित थियो । सुरुमा त्यही कार्यक्रमको तयारीका क्रममा नेकपा प्रदेश कमिटीका सदस्यबीच माघ १२ गते विवाद भएको हो ।

अध्यक्ष थापाले तयारी समिति निर्माण गर्ने क्रममा ‘एकलौटी’ गरेको भन्दै प्रदेश सदस्य मीनबहादुर कुँवरले असहमति जनाएपछि प्रधानमन्त्रीको प्रस्तावित भ्रमणको तयारी बिथोलिएको थियो । ‘अध्यक्ष थापाले गुटगत रूपमा तयारी समिति गठन गर्न खोजेपछि विरोध जनाएको हुँ,’ प्रदेश सदस्य मीनबहादुर कुँवरले भने, ‘थापाले इन्चार्ज लगायतसँग छलफल गर्न आवश्यक छैन भनेपछि बैठक भाँडिएको हो ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement