नेकपाले भन्यो: बालेनको अभिव्यक्ति राष्ट्रघाती

नेकपाले भन्यो: बालेनको अभिव्यक्ति राष्ट्रघाती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन शाहले नेपाल-भारत सीमा विवादबारे दिएको अभिव्यक्तिको भर्त्सना गरेको छ।

नेकपाका प्रवक्ता प्रकाश ज्वालाले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको भनाइ गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको तथ्यविपरीत रहेको उल्लेख गरिएको छ।

प्रधानमन्त्री शाहले आइतबार संसदमा सीमा भारतले मात्र नभइ नेपालले पनि विभिन्न स्थानमा सीमा मिचेको र आफू प्रधानमन्त्री भएपछि मात्र यसबारे जानकारी पाएको बताएका थिए।

नेकपाले जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदल बदल (क्रस होल्डिङ) फरक विषय भएको स्पष्ट पारेको छ। पार्टीले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा भारतले गरेको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरेर नेपालले पनि भारतको भूमि कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात भएको जनाएको छ।

विज्ञप्तिमा नेपाल- भारत अन्तर्राष्ट्रिय सीमारेखाका कारण सीमावर्ती नागरिकका खेतीयोग्य जमिन वा सम्पत्ति दुवैतर्फ पर्नुलाई ‘कब्जा’ भन्न नमिल्ने उल्लेख गरिएको छ।

नेकपाले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने र हालसम्म नेपालले भारतको कुनै भूभाग कब्जा नगरेको दाबी कायम राखेको जनाएको छ।

पार्टीले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति सच्याउन, र संसद्को अभिलेखबाट हटाउन माग गरेको छ।