नेकपाको अन्तर्द्वन्द्व मिलाउने जिम्मा बादललाई, के–के छ जिम्मेवारी ?


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवाद मिलाउने जिम्मा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई दिएका छन् ।

पछिल्लो समय बादल ओली निकट देखिन्छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनी पहिल्यैदेखि निकट छन् ।

पार्टी एकीकरणपछि वैचारिक विवादको समाधान, केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी बाँडफाँड, सरकारमा मन्त्रीहरूको फेरबदल लगायत विषयमा पूर्व एमाले र पूर्व माओवादी समूहको समान धारणा बनाउन बादलले भूमिका खेल्ने जनाइएको छ ।

पार्टी्भित्र विवाद देखिएपछि केही हप्तायता सचिवालयको बैठक बस्न सकेको छैन । बसेका बैठकले समेत निर्णय गर्न नसक्दा एकीकरणको प्रक्रिया र पार्टी परिचालनको काम अवरुद्ध भएको छ । दुवै पक्षसँग समन्वय गरेर एकमत निर्माण गर्न सक्ने विश्वासका साथ अध्यक्ष ओलीले बादललाई महत्त्वपूर्ण जिम्मेवारी दिएको नेकपा स्रोतको दाबी छ ।

केही दिनयता प्रचण्डले माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, बादल लगायतका नेतासँग छुट्टै भेला गरेको समाचार सार्वजनिक भएका थिए । प्रचण्डले सोमबार चितवन गएर दिएको अभिव्यक्तिले समेत पार्टी्भित्र गम्भीर विवाद रहेको संकेत गरेको थियो । प्रचण्डले चितवनमा गएर पूर्व समझदारी विपरीत जान खोजिए दुर्भाग्य हुने अभिव्यक्ति दिएका छन् ।

एकीकृत पार्टी नेकपाको वैचारिक र सैद्धान्तिक धार जनताको बहुदलीय जनवाद (जबज) कि जनताको जनवाद (जज) हुने भन्ने विषयमा नेकपाभित्र विवाद बढ्दै गएको छ । सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल जबजको पक्षमा खुलेरै लागेका छन् भने प्रचण्डले एकीकरणपछि परिस्कृत जजलाई नै अँगाल्नुपर्ने बताइरहेका छन् ।
सरकार सञ्चालनको शैलीमा समेत पार्टी्भित्र विवाद बढेको छ ।

प्रधानमन्त्री ओलीले पार्टीबाट आफूलाई सहयोग नभएको गुनासो गरेका छन् भने सरकार बाहिरका नेताले सरकारी निर्णय लिँदा पार्टीमा सल्लाह नहुने गुनासो गर्छन् । पार्टीमा केन्द्रीय सदस्यको कार्य्विभाजनको काम समेत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement