नेकपाले प्रवास समन्वय कमिटीको नेतृत्व टुंगो लगायो (नामसहित)


काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रवास समन्वय कमिटीको इन्चार्जमा बिन्दा पाण्डेलाई चुनेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीसँग बोल्दै इन्चार्ज पाण्डेसँगै कमिटीमा अध्यक्ष, सचिव र सदस्यमा क्रमश युवराज चौलागाईं र श्रीप्रसाद शाह र तिलप्रसाद विकलाई चुनेको बताए ।

‘प्रवास कमिटी नबनाउने पार्टीको पहिल्यैदेखिको निर्णय हो,’ श्रेष्ठले भने, ‘तर प्रवासी नेपालीहरूको बीचमा सम्पर्क स्थापित गर्न, एकता र मेलमिलापको भावना प्रकट गर्न, हकहितको रक्षाको निम्ति समन्वय कमिटी बनाइएको हो ।’

प्रवक्ता श्रेष्ठले अन्य विषयमा कुनै छलफल नभएको बताए । आइतवार बसेको बैठकमा मन्त्रिमण्डल हेरफेरको प्रस्ताव जान सक्ने चर्चा चलेपनि त्यस विषयमा कुनै छलफल नभएको श्रेष्ठले दाबी गरेका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको कार्यकारी अधिकार प्रत्यायोजन गर्ने विषय के हो भनी सञ्चारकर्मीले सोधेको प्रश्नमा श्रेष्ठले त्यो विषयमा बैठकमा कुनै छलफल नभएको बताए ।

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका बारेमा शनिवार नै ग्राण्डी अस्पतालले विज्ञप्ति जारी गरिसकेको भन्दै थप केही बताउनु नपर्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement