भत्किनु र फुट्नु सामान्य प्रक्रिया हो, कुनै पनि हालतमा पार्टी विघटन हुन दिँदैनौं : अध्यक्ष प्रचण्ड


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा विवाद आउनु सामान्य प्रक्रिया भएको बताएका छन् ।

काठमाडौंको रामशाहपथमा नेकपाको बागमती प्रदेशको प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी भत्किनु र फुट्नु सामान्य प्रक्रिया भएको बताउँदै पार्टी एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

‘धेरै दुःख गरेर र ठूलो मूल्य चुकाएर कम्युनिस्ट पार्टीलाई यहाँसम्म ल्याइर्पुयाएका छौँ । पार्टीमा विवाद हुनु सामान्य प्रक्रिया हो । यो पार्टीलाई कुनै पनि हालतमा विभाजन हुन दिँदैनौँ,’ उनले भने ।

पछिल्लो समय बामदेव गौतमलाई राष्टियसभा सदस्य बनाउने निर्णयसँगै ओली प्रचण्डबीच देखिएको विवादतर्फ संकेत गर्दै प्रचण्डले पार्टीमा विवाद र संघर्ष नभएको दिन पार्टी नै नचाहिँने बताए ।

‘धेरैलाई लाग्नसक्छ, पार्टी शान्त भइदिए हुन्थ्यो । नेताहरु खुरुक्क मिलेर हिँडे हुन्थ्यो,’ नेकपा अध्यक्ष प्रचण्डले भने, ‘हामीलाई पनि त्यस्तै लाग्छ, हामीले पनि एकतावद्ध हुन कोसिस गर्ने हो । तर जुन दिन विवादरहित र शान्त भएपछि समाजवाद आउँछ र त्यसपछि पार्टी नै चाहिँदैन ।’

पार्टी विभाजन गर्ने प्रतिक्रियावादीको षड्यन्त्र सफल हुन नदिने भन्दै उनले कार्यकर्तालाई एक ढिक्का भएर अगाडि बढ्न निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement