पार्टी भित्रको बहस नेतृत्व प्राप्तिका लागि होइनः अध्यक्ष प्रचण्ड


काठमाण्डु – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा बहस र विवाद हुनु सामान्य कुरा भएको बताएका छन् ।

तुलसीलाल अमात्यको स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टी विचार र पद्धतिमा चल्ने भएकोले बहसर विवाद हुनु स्वभाविक भएको बताए ।

‘पदका लागि होइन, राष्ट्र र जनताको सेवा नै मुख्य हो,’ प्रचण्डले भने, ‘पद हाम्रो विषय होइन । राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौं ।’

‘पार्टीमा बहस गर्दा पार्टी फुट्न लाग्यो, छियाछिया हुन्छ भन्ने होइन । जालझेल र ढाटछल गर्न आउँदैन,’ उनले भने, ‘पार्टीभित्र तीखो बहस हुन्छ । यो हुनु सामान्य हो, पार्टी भित्रको बहस नेतृत्व प्राप्तिका लागि भने होइन ।’

पद प्राप्तिका लागि तछाडमछाड भइरहेको भन्ने गलत प्रचार भइरहेको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘यो पदको झिनाझम्टी विल्कुलै होइन ।’

उनले पार्टीलाई कसरी अगाडि बढाउने ? विचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्ने बहस नेकपाभित्र भएको भन्दै त्यसलाई प्रतिक्रियावादीहरूले पद प्राप्तिको झिनाझम्टी भन्ने गरेकोले नपत्याउन उनले आग्रह गरे ।

प्रचण्डले पार्टी एकता अझै माथिल्लो स्तरमा सुदृढ गर्नु पर्ने बताए । उनले भने, ‘आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने छ, त्यो चाहनालाई कदर गर्दै हामी पार्टी एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement