नेकपामा यसरी साम्य हुँदैछ विवाद


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद साम्य हुने अवस्थामा पुगेको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको निरन्तरको छलफलपछि पार्टीको विवाद अन्त्य हुने भएको हो ।

नेकपा स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि उत्पन्न भएको विवादले पार्टी फुटको संघारमा पुगेको थियो । गत असार २० गतेबाट निरन्तर स्थगित हुँदै आएको नेकपा स्थायी कमिटी बैठकपछि दुवै अध्यक्षको निरन्तरको वार्ता र छलफलपछि विवाद समाधान हुने अवस्थामा पुगेको हो । नेतृत्वबीच पावर सेयरिङमा जाने सहमति भएपछि विवाद हल हुने अवस्थामा पुगेको नेताहरुले बताएका छन् ।

तीन दिन अगाडि अध्यक्षद्वय ओली र प्रचण्डबीच अन्तिम पटक भेटवार्ता भएको थियो । नेकपा स्थायी कमिटी बैठक स्थगित भएको अवस्थामा अध्यक्षले विवाद समाधान गर्नुपर्ने भए पनि दुई नेताबीच मनमुटावकै अवस्थामा बैठक टुंगिएको छ । प्रधानमन्त्री र पार्टी अध्यक्ष बाँडफाँडमा केन्द्रीत भएको विवाद यस अघि विषयवस्तुमा प्रवेश गरेको थियो ।

२६ गतेको स्थायी कमिटी बैठक स्थगित गरेर छलफलमा जुटेका अध्यक्षहरुबीच भनाभन भएपछि स्थायी कमिटी बैठक स्थगित भएको थियो । त्यसपछि उनीहरुबीच सम्वाद भएको छैन् । उक्त बैठकमा दुवै अध्यक्षबीच व्यक्तिगत रुपमा तिक्ततापूर्ण सम्बन्ध बनेको नेकपाका एक स्थायी कमिटी सदस्यले बताए ।

उक्त बैठकमा प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई एक वर्ष सरकार सञ्चालन गर्न दिने विषयमा दुवै अध्यक्षबीच छलफल भएको थियो । स्रोतकाअनुसार प्रचण्डले प्रधानमन्त्री र अध्यक्षमध्ये एउटा पद छोड्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए । त्यसपछि आक्रोशित भएका प्रधानमन्त्री ओलीले प्रचण्डलाई राजीनामा नदिने अडान कसे ।

प्रचण्डले राजीनामाको विषयमा अडान कायम नै राखेपछि प्रधानमन्त्री अ‍ोली बैठक कोठाबाट बाहिरिएर अर्को कोठमा गएका थिए । प्रचण्ड पनि अ‍ोली नआएपछि त्यहाँबाट उठेर हिँडेको स्रोतको दाबी छ । बैठकबाट बाहिरिएका अध्यक्ष प्रचण्डले आफू निकट स्थायी कमिटी सदस्यहरुसँगको ब्रिफिङमा ओली आफ्नो अडानबाट टसमस नभएको र पहिलेभन्दा पनि खराब व्यवहार प्रस्तुत गरेको बताएका छन् ।

दुवै अध्यक्षबीच तिक्ततापूर्ण सम्बन्ध भएपछि भोलीपल्ट पार्टी महासचिव विष्णु पौडेलले दुवै अध्यक्षबीचमा टेलिफोनमा सम्वाद गराएका थिए । सम्वादपछि महासचिव पौडेलले स्थायी कमिटी बैठक स्थगित गराउन पहल गराएका थिए ।

दुवै अध्यक्षबीच भएको विवादको संकेत अध्यक्ष प्रचण्डले चितवनबाट दिएका छन् । उनले प्रधानमन्त्री अ‍ोलीलाई लक्षित गर्दै कोही राष्ट्रवादी र कोही राष्ट्रघाती नहुने बताएका थिए । अध्यक्ष प्रचण्डले लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नेपालको नयाँ नक्सा सबैको सहमतिमा प्रकाशित भएकाले प्रधानमन्त्री ओलीले आफूलाई मात्र राष्ट्रवादी देखाउन खोजेको आरोप लगाएका थिए ।

त्यस्तै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई सडकमा आफ्नो पक्षमा भएको प्रर्दशन रोक्न आग्रह गरेपनि अ‍ोलीले अटेर गर्दै आएका छन् । प्रचण्डको उक्त भनाई प्रधानमन्त्री अ‍ोलीको पक्षमा भएको सडक प्रर्दशनलाई संकेत गर्न खोजेको देखिन्छ ।

ओलीलाई लक्षित गर्दै अध्यक्ष प्रचण्डले भने, ‘यहाँ कोही राष्ट्रघाती दलाल कोही महान् राष्ट्रवादी भन्ने होइन । सबै मिलेर नयाँ नक्सा बनाएको हो ।’

विवाद साम्य पार्न पावर सेयरिङ

प्रधानमन्त्री ओलीले दुवै पद नछोड्ने अडान लिएपछि प्रचण्ड र नेकपा वरिष्ठ नेता माधव नेपाल पार्टीभित्र पावर सेयरिङ गर्ने मनस्थितिमा पुगेका छन् ।

बालुवाटारमा भएको बैठकमा दुवै अध्यक्षबीच अन्य थुप्रै विषयमा पनि छलफल भएको छ । उनीहरुबीच राजीनामा बाहेक अहिले नेतृत्वबीच मन्त्रिमण्डल पुर्नगठन गर्ने, मुख्यमन्त्री फेरबदल गर्ने, प्रधानमन्त्रीको सल्लाहकार समूह हेरफेर गर्ने विषयमा छलफल भएको छ । नेता नेपालले प्रदेशमा आफ्नो समूहबाट कसैको पनि उपस्थिति नरहेको असन्तुष्टी पोखेपछि प्रदेश नम्बर पाँच र बागमती प्रदेशमध्ये एउटा प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी छ ।

६ वटा प्रदेशमध्ये अ‍ोली समूहबाट चार र प्रचण्ड समूहबाट २ वटा प्रदेशमा मुख्यमन्त्री रहेका छन् । त्यसमा माधव नेपालको भागमा एउटा पनि परेको छैन् । एउटा प्रदेशमा माधव नेपाल समूहलाई मुख्यमन्त्री बनाएर नेकपाभित्रको विवाद मत्थर पार्ने तयारी रहेको छ ।

त्यस्तै अ‍ोलीले असन्तुष्ट नेताहरुलाई समेट्ने गरी मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी पनि गरेका छन् । उनले खाली रहेका केही मन्त्रालयमा असन्तुष्ट नेतालाई भित्र्याउने तयारी गरेका छन् । पछिल्लो यी सहमतिले नेकपाभिकत्रको विवाद समाधानको तहमा पुग्ने देखिएको हो ।

प्रधानमन्त्रीले राजीनामा दिन नहुने तर्क

नेकपाभित्र प्रधानमन्त्री ओलीलाई राजीनामा गराउन नहुने पक्षमा नेकपा नेताहरुले मत राख्दै आएका छन् । सरकारमा भएका केही मन्त्रीहरुले नै नेकपा वरिष्ठ नेताहरुलाई प्रधानमन्त्री अ‍ोलीलाई पार्टी र सरकार दुवै पदबाट राजीनामा गराउन नहुने सुझाव दिएको स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री निकट रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले अहिलेको अवस्थामा प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा नदिने संकेत गरेका छन् । मन्त्री पोखरेलले अहिलेको अवस्थामा पार्टी र सरकारमा ओलीको विकल्प स्वीकार्य नहुने बताएका हुन् । ‘ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा पनि दिनुहुन्न । पार्टी पनि फट्दैन’, उनले एक टेलिभिजनसँगको अन्र्तवार्तामा भनेका छन् ।

त्यस्तै पार्टीको विवाद समाधानका लागि नेकपाका दोस्रो तहका नेताहरुले पनि सक्रियता देखाएका छन् । कृषि मन्त्री घनश्याम भुसालले तत्काल सरकार परिवर्तन गर्नु आफैंमा घातक हुने तर्क गरेका छन् । उनले आफू प्रधानमन्त्री पक्षधर नभएपनि अहिलेको अवस्थामा सरकार परिवर्तन गर्नु उचित नहुने बताएको स्वयं नेकपा नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement