नेकपाको पोलिटब्युरो गठन वैशाखमै


काठमाडौं – नेकपाका शीर्ष नेता पोलिटब्युरो गठनमा जुटेका छन्। वैशाखभित्रै पोलिटब्युरो गठन, कार्य विभाजन र जनसंगठनको एकता टुंगो लगाउनुपर्ने दबाबमा नेताहरू छन्। आगामी सचिवालय बैठकबाट पोलिटब्युरो गठन हुने नेताहरूले बताए।

‘वैशाखभित्रै पार्टी बैठक बसेर पोलिटब्युरो गठन गर्ने र नेताहरूको कार्य विभाजन टुंग्याउने काम सँगसँगै हुनेछ’, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने। उनका अनुसार वरिष्ठ नेता माधव नेपाल चीनबाट फर्केलगत्तै बस्ने सचिवालय बैठकले दुवै विषय टुंगो लगाउनेछ। चीन भ्रमणमा रहेका नेपाल १५ गते फर्कने कार्यक्रम छ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार बालुवाटारमा पोलिटब्युरो गठनबारे छलफल भएको छ। पार्टी स्रोतले भन्यो, ‘माधव नेपाल फर्केपछि बस्ने सचिवालयले दुवै विषयमा टुंगो लगाउने सहमति भएको छ। ’ पोलिटब्युरो सदस्य बन्न नेताहरू दौडधुप गर्न थालेका छन्।

नेकपामा १४७ जनाको पोलिटब्युरो बनाउने समझदारी छ। पार्टी विधानको धारा १८ को (घ) को २ मा स्थायी कमिटीसहित केन्द्रीय कमिटीको कुल सदस्य संख्याको बढीमा एकतिहाइ सदस्यको पोलिटब्युरो गठन गर्न सकिने व्यवस्था छ। पार्टी एकताको ११ महिना बित्दासमेत नेकपा पोलिटब्युरो गठन हुन सकेको छैन। पार्टीको ९ सदस्यीय सचिवालय, ४५ सदस्यीय स्थायी समिति र ४४१ सदस्यीय केन्द्रीय समिति छ।

केन्द्रीय सदस्यको कार्य विभाजनअगाडि पोलिटब्युरो गठन गर्न दबाब परेपछि कार्य विभाजन र पोलिटब्युरो सँगसँगै बनाउने सहमति शीर्ष नेताहरूबीच भएको थियो। पोलिटब्युरोमा पूर्वएमालेबाट ८१ र पूर्वमाओवादीका ६६ नेता राख्ने समझदारी छ।

६५ जना स्वतः पोलिटब्युरो

विधानको व्यवस्थाअनुसार स्थायी समिति सदस्य पार्टी पोलिटब्युरोमा स्वतः पर्नेछन्। ४५ सदस्यीय स्थायी समितिमा तत्कालीन एमालेतर्फका २६ र तत्कालीन माओवादीतर्फका १९ जना छन्। अब दुवैतर्फबाट बाँकी पोलिटब्युरो सदस्य चयन गर्नुपर्नेछ। तत्कालीन एमालेका पोलिटब्युरो सदस्य रहेका पनि स्वतः समेटिनेछन्। यसो गर्दा पूर्वएमालेको वैकल्पिक पोलिटब्युरोसहितका तत्कालीन ६५ सदस्य पोलिटब्युरोमा पर्नेछन्। यो खबर आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement