सचिवालयले गरेको निर्णय प्रधानमन्त्रीले मान्नैपर्छ, मान्नुहुन्छ : अध्यक्ष प्रचण्ड


चितवन – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकले गरेको निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले मान्नुको विकल्प नभएको बताएका छन् ।

शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेकपा अध्यक्ष प्रचण्डले  बामदेव गौतमलाई राष्ट्रियसभामा ममोनित गर्ने सचिवालय बैठकले गरेको निर्णय सर्वसम्मत भएको बताउँदै उक्त निर्णय प्रधानमन्त्रीले मान्ने विश्वास व्यक्त गरे ।

‘प्रधानमन्त्रीजी र मेरो संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मत गरेको निर्णय हो, उहाँले अवज्ञा गर्नुहुन्छ भन्ने म कल्पना पनि गर्न सक्दिनँ । मान्नुहुन्छ, उहाँले मान्नैपर्छ । नआत्तिनुस्, तपाईहरुले एक दुई दिनमा थाहा पाइहाल्नुहुन्छ,’ अध्यक्ष प्रचण्डले भने ।

अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा जानैपर्छ भन्ने नभएको बताउँदै उनले छ महिनासम्म सांसद नभएको व्यक्ति पनि मन्त्री हुनसक्ने उल्लेख गरे । संविधान संशोधन गरेर प्रधानमन्त्री हुने भए मात्र राष्ट्रियसभामा जाने उपाध्यक्ष गौतमको शर्त भने गएको सचिवालय बैठकबाट हटेको दाहालको भनाइ थियो ।

उनले संविधान संशोधन एउटा प्रक्रियामा अघि बढ्ने जानकारी पनि दिए । उपाध्यक्ष गौतम सिफारिसका लागि व्यवसायीसँग बैठक बसेको भन्ने भनाइ कपोलकल्पित मात्र भएको उनले बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘त्यो नियोजित, भ्रामक र कपोकलल्पित छ । त्यस्तो कहीँ बैठक वा डिनर भएको कसैले प्रमाणित गरिदियो भने म त्यसलाई बधाई भन्छु,’ उनले भने, ‘प्रत्यक्ष निर्वाचनमा पराजित व्यक्ति मनोनीत भएको प्रशस्त उदाहरण भएको बताउँदै उनले मैले ल्याएर केके गरेँ भन्ने तपाईँहरुलाई थाहा नै छ नि ।’

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति र नेतासँग भएको भेट सामान्य राजनीतिक प्रक्रिया मात्र भएको उनले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement