नेकपाले भन्योः सुनसरी गोली काण्डको जिम्मेवारी सरकारले लिनुपर्छ

नेकपाले भन्योः सुनसरी गोली काण्डको जिम्मेवारी सरकारले लिनुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुनसरीको देवानगञ्ज घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ ।
प्रवक्ता प्रकाश ज्वालाले मंगलबार एक विज्ञप्ति जारी गर्दै राज्य संयन्त्रको लापबारहीले उक्त घटना भएकाले त्यसको जिम्मेवारी सरकारको हुने बताएका छन् ।

नेकपाले घटनामा राज्यको गम्भीर लापरबाही देखिएको र मानवअधिकार उल्लङ्घन भएको आरोप लगाएको छ ।

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको झडपका क्रममा प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर घाइते भएका देवानगञ्ज–४ का ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको छ । अरु दर्जनौं घाइते छन् ।

ज्वालाले घटनामा राज्य पक्षले संयम अपनाउन नसकेको आरोप लगाएका छन् ।

विवाद समाधानका लागि संवाद र संयमको बाटो रोज्नुपर्नेमा सुरक्षाकर्मीले रातिको समयमा गोली चलाएर नागरिकको ज्यान लिएको निस्कर्ष नेकपाको छ ।

नेकपाले घटनालाई सामान्य सुरक्षा चुनौतीका रूपमा लिन नहुने भन्दै सरकारलाई जिम्मेवारी लिन चेतावनी दिएको छ ।

पार्टीले सुरक्षाकर्मीको बल प्रयोगबारे तत्काल स्वतन्त्र र निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ ।

विज्ञप्तिमा राज्य संयन्त्रको कमजोरीका कारण परिस्थिति थप बिग्रिएको आरोप लगाउँदै नेकपाले नागरिकको ज्यान जाने गरी भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उल्लेख गरेको छ ।

मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेकपाले पीडित परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेको निःशुल्क उपचार सुनिश्चित गर्न माग गरेको छ ।


साथै, नेकपाले सुनसरीको अवस्था थप तनावपूर्ण बन्न नदिन सरकारलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई अपिल गरेको छ ।