नेकपामा प्रदेश पदाधिकारीलाई पोलिटब्युरोमा समेट्ने तयारी


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश र जिल्लाको सन्तुलन मिलाउन प्रदेश पदाधिकारी सबैलाई पोलिटब्युरो कमिटीमा समेट्न छलफलको तयारी गरेको छ । पोलिटब्युरो सदस्यलाई जिल्ला इन्चार्ज बनाउने गरी कार्यविभाजनको तयारी भएकाले प्रदेशका सबै पदाधिकारी, इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवलाई पनि समेट्न लागेको हो ।

प्रदेश कमिटीका केही सचिवहरू पोलिटब्युरो सूचीबाहिर परेपछि सचिवालयबाटै टुंग्याउन छलफलको तयारी भएको सचिवालयका एक नेताले बताए । वरिष्ठ नेता माधवकुमार नेपाल आइतबार चीन भ्रमणबाट स्वदेश फर्किएपछि सोमबारसम्म सचिवालय बैठक बोलाउने तयारी छ । पूर्वएमालेबाट ८१ र माओवादीबाट ६६ जना रहेको १ सय ४७ सदस्यीय पोलिटब्युरो गठन गर्ने गरी शीर्ष नेताहरूले कमटीको सूची तयार पारेका छन् ।

सूचीमा सात प्रदेशका २८ पदाधिकारीमध्ये २४ जना वरिष्ठताको मापदण्डअनुसार स्वतः पोलिटब्युरो सदस्य बन्दै छन् । तर, बाँकी पदाधिकारी वरिष्ठताको मापदण्डअनुसार नसमेटिने देखिएपछि उनीहरूसहितलाई समेट्ने उपायबारे सचिवालय बैठकले निकास निकाल्ने सचिवालयका एक सदस्यले बताए ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने दुवै समूहबाट साविक पोलिटब्युरोमा रहेका बाहेक वरिष्ठता र योगदान हेरेर चयन गर्ने मापदण्डमा सहमति जुटिसके पनि प्रदेश पदाधिकारी सबैलाई समेट्नेरनसमेट्ने विषयमा छलफल बाँकी नै रहेको बताए । ‘त्यसबारे (प्रदेश पदाधिकारी सबैलाई) समेट्ने कि नसमेट्ने थप विषयमा केही पनि छलफल भएको छैन,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘सबै सचिवालय बैठकबाटै अन्तिम टुंगो लाग्नेछ ।’

प्रदेश पदाधिकारीमध्ये वरिष्ठताको मापदण्डअनुसार सदस्य भीम आचार्य, सावित्रीकुमार काफ्ले, देवराज घिमिरे, सुरेश राई, सत्यनारायण मण्डल, विश्वनाथ शाह, प्रभु शाह, अष्टलक्ष्मी शाक्य स्वतः पोलिटब्युरोमा पर्नेछन् । त्यस्तै, हितबहादुर तामाङ, नारायण दाहाल, पृथ्बीसुब्बा गुरुङ, खगराज अधिकारी, शंकर पोखरेल, दलबहादुर राना, जगप्रसाद शर्मा, जनार्दन शर्मा, यमलाल कँडेल, गोरखबहादुर बोगटी, मायाप्रसाद शर्मा, भीम रावल, लक्ष्मण जोशी र कर्णबहादुर थापा पनि स्वतः पोलिटब्युरो सदस्य हुँदै छन् । साविक सचिवलाय सदस्य नरहे पनि पूर्वसभामुखसमेत रहेकी ओनसरी घर्ती वरिष्ठताकै मापदण्डअनुसार पोलिटब्युरोमा समेटिनेछन् । यो समाचार आजको नयांपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement