नेकपा सचिवालयको बैठकमा प्रवक्ताबाट नारायणकाजीले दिएको राजिनामा अस्वीकृत


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीको सचिवालयले प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट दिएको राजिनामा अस्वीकृत गरेको छ।

चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनसन बसेका डा. गोविन्द केसीसँगको भेटलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएपछि श्रेष्ठले प्रवक्ता पदबाट राजिनामा दिएका थिए। सोमबारको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिदेखि प्रवक्ता श्रेष्ठले उठाएका नीतिगत विषयमा समेत लामो छलफल भएको स्रोतले जनाएको छ ।

आइतबारको बैठकमा बामदेव गौतमले आफ्नो असन्तुष्टि पोखेका थिए । सो बैठकले सांसद रामवीर मानन्धरको राजीनामा अस्वीकृत गरेको थियो । नेता वामदेवका लागि त्याग गर्न तम्सेका काठमाडौं क्षेत्र नं. ७ का सांसद रामवीर मानन्धरको राजीनामा सचिवालयको आइतबारको बैठकले अस्वीकृत गरेको थियो भने आज प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकले आगामी दिनहरुमा कमजोरी सच्याउने दुबै अध्यक्षले प्रतिवद्धता व्यक्त गरेको र यसअघि सचिवालयको बैठकले गरेको प्रदेश नेतृत्व इञ्चार्ज, सह –इञ्चार्ज, अध्यक्ष र सचिव तोक्ने निर्णय आजको सचिवालय बैठकले सदर गरेको प्रवक्ता श्रेष्ठले बताए ।

पार्टीका विभिन्न कमिटीहरुको एकीकरण र जनवर्गीय संगठनहरुको एकता लगायतका बिषयमा छलफल गर्न बुधबार सचिवालयको बैठक पुनः बस्ने भएको छ । त्यही बैठकले एकताको प्रस्ताव तयार पारेर कात्तिक १२ र १३ गते बस्ने स्थायी कमिटी बैठकमा पेश गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement