यसरी मनाउदैछ नेकपाले जनयुद्ध दिवस


काठमाडौं – प्रमुख सत्तारुढ दल नेकपाले जनयुद्ध दिवस मनाउने भएको छ । महासचिव विष्णु पौडेलले सर्कुलर जारी गरी जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा १ फागुनमा देशभर कार्यक्रम गर्न निर्देशन दिएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूको उपस्थितिमा श्रद्धाञ्जली कार्यक्रम हुने भएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार जनयुद्ध सुरु भएको दिन १ फागुनको सम्झनामा जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा नेकपाले पहिलोपटक कार्यक्रम राखेको हो । यसअघि तत्कालीन माओवादी घटक दलहरूले हरेक वर्ष १ फागुनमा आ–आफ्नै तरिकाले जनयुद्ध दिवस मनाउँदै आएका थिए ।

विभाजित माओवादीले पनि जनयुद्ध दिवस मनाउने

माओवादीबाट विभाजित पार्टीहरूले पनि १ फागुनमा जनयुद्ध दिवस मनाउने भएका छन् । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीले केन्द्रमा शान्तिबाटिकामा कार्यक्रम आयोजना गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि शान्तिबाटिकामै जनयुद्ध दिवस मनाउने भएको छ ।

गोपाल किरातीले पुनर्गठन गरेको माओवादी केन्द्रले जनयुद्ध दिवस प्रज्ञा भवनमा मनाउने भएको छ । पार्टीको सातौँ महाधिवेशनको उद्घाटनसँगै जनयुद्ध दिवस मनाउने तयारी केन्द्रको छ । विश्वभक्त दुलाल आहुती नेतृत्वको नयाँ वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले भने जनयुद्ध दिवसबारे निर्णय गरिसकेको छैन ।

नयाँ शक्तिले जनयुद्ध दिवस नमनाउने
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले भने जनयुद्ध दिवस नमनाउने भएको छ । भट्टराईले तत्कालीन एकीकृत माओवादी छोडेर नयाँ शक्ति गठन गरेका थिए । माओवादी रहँदा जनयुद्धको मुख्य योजनाकार आफू भएको दाबी भट्टराईले गर्दै आएका थिए । जनयुद्धको क्रममा उनी तत्कालीन नेकपा माओवादीमा तेस्रो वरीयताका नेता थिए ।याे समाचार अाजकाे नयांपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement