नेकपा एकता, जिम्मेवारी बाँडफाँटमा सकस


काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले एकताको बाँकी काम टुंगो लगाउन शीर्ष नेता तयारीमा जुटेका छन् । सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश, जिल्ला तथा जनवर्गीय संगठनको एकता टुंगो लगाएको नेकपामा अहिले जिम्मेवारी बाँडफाँटमा लफडा सुरु भएको छ । पोलिटब्युरो कमिटी, केन्द्रीय सदस्यहरुको कार्य विभाजन र विभाग गठन अझै टुंगो लागेको छैन् । जिल्ला इन्चार्ज, सहइन्चार्ज र विभागको नेतृत्व टुंगो लगाउने विषयमा पार्टीभित्र विवाद देखिएको छ ।

३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकिकरण भएको थियो । महŒवपूर्ण एवं जटिल काम टुंगो लागे पनि विभाग, स्थानीय तह, पोलिटब्युरो कमिटी तथा केन्द्रीय सदस्यको कार्य विभाजन गर्न सकस भएको छ । पोलिटब्युरो कमिटी गठन, केन्द्रीय सदस्यहरुको कार्य विभाजनसहित संगठन विभाग, स्कुल विभाग, विदेश विभाग, प्रचारप्रसार विभाग र आर्थिक विभागमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा शीर्ष नेताबीचमै विवाद छ ।

पोलिटब्युरो गठनसहित जिम्मेवारी बाँडफाँट गर्ने भनेर आज (आइतबार) बोलाइएको सचिवालय बैठक तयारी नपुगेका कारण स्थगित भएको छ । नेकपा स्रोतका अनुसार शीर्ष नेताहरुकै बीचमा कुरो मिलाउन बाँकी छ । आइतबारको बैठक स्थगित गरी सोमबार सचिवालय बैठक बोलाइएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच जिम्मेवारी बाँडफाँटका विषयमा छलफल जारी छ । शीर्ष नेताबीच सहमति भएपछि सचिवालय बैठक सोमबार बस्ने र त्यही बैठकबाट टुंगो लाग्ने एक नेताले बताए । ७७ वटै जिल्लाको अध्यक्ष र सचिव टुंगो लागे पनि इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउनमा शीर्ष नेतृत्वबीच रसाकस्सी चलिरहेको नेकपा स्रोतको दाबी छ ।

नवगठित नेकपाको नौ सदस्यीय सचिवालयमा नयाँ समीकरण बनेसँगै कार्य विभाजनमा ढिलाइ भएको छ । सचिवालयमा एकातिर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली, महासचिव विष्णु पौडेल र रामबहादुर थापा छन् भने अर्कातिर अर्का अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनाल, वामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् ।

दाहाल गुट परिवर्तन गर्दै पछिलो समय थापा ओली खेमामा पुगेपछि ओलीले उनलाई संगठन विभाग प्रमुख बनाउनुपर्ने पक्षमा उभिएका छन् । तर, संसदीय निर्वाचनमा पराजित र सरकारी जिम्मेवारीविहीन वामदेव गौतमलाई नेपाल र दाहालले संगठन विभाग प्रमुख दिनुपर्ने अडान लिएका छन् ।

गौतम केही समय पहिलेसम्म ओली खेमामै थिए । तर, पछिल्लो समय थापा जस्तै उनी पनि नेपाल र दाहाल खेममा पुगेका छन् । थापा गृहमन्त्रीसमेत भएकाले संगठन विभागका लागि गौतम उपयुक्त रहेको दाबी नेपाल र दाहाल समूहको छ । यसैगरी, स्कुल विभागका लागि ओली समूहबाट ईश्वर पोखरेल तथा नेपाल र दाहाल समूहबाट श्रेष्ठलाई अघि सारिएको छ । प्रचार विभागमा प्रवक्ता श्रेष्ठसँगै योगेश भट्टराई र पम्फा भुसाल दाबेदार छन् ।

विदेश विभागको प्रमुख माधवकुमार नेपाललाई बनाउन ओलीसहित शीर्ष नेता सहमत छन् । विदेश विभागको नेतृत्वमा विवाद देखिएको छैन । अर्का वरिष्ठ नेता खनाललाई नीति तथा अनुसन्धान विभागको जिम्मेवारी दिनुपर्ने नेपाल पक्षको माग छ । महासचिवसमेत रहेका पौडेललाई महŒवपूर्ण विभाग दिनुपर्ने ओली समूहको अडान छ । नेकपा स्रोतका अनुसार पोलिटब्युरो गठनका लागि तत्कालीन एमालेका तर्फबाट नामावली तयार भए पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट नामावली टुंगो लाग्न नसक्दा ढिलाइ भएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement