नेकपा बैठक : सरकारको चर्को आलोचना

नेकपा बैठक : सरकारको चर्को आलोचना


काठमाडौं – नेकपा केन्द्रीय कमिटी बैठकमा सरकारको चर्काे आलोचना भएको छ। झन्डै दुईतिहाइसहित नेतृत्व गर्दा पनि जनअपेक्षाअनुसार काम गर्न नसकेकामा शनिबार बोल्ने नेताहरूले असन्तुष्टि जनाएका हुन्।

उनीहरूले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, महासचिवको संगठन र विधान संशोधन प्रस्तावबारे समूहगत छलफलको निष्कर्ष सुनाएका थिए। ‘सरकारको समीक्षा गर्न पार्टी दस्तावेज डराएको छ। जति दिल खोलेर आउनुपथ्र्यो, आएन। सरकारको कामलाई हामीले समूहमा दिल खोलेर छलफल गर्‍यौं। सरकारले जनताको मन छुने काम गर्न सकेन भन्ने निष्कर्ष निकाल्यौं’, समूह ४ का टोली नेता जगन्नाथ खतिवडाले भने, ‘यो हाम्रो सरकार हो कि होइन, शंका लाग्न थाल्यो भनेर साथीहरूले गुनासो गर्नुभएको छ।’

प्रधानमन्त्री केपी ओलीले दुई वर्षमा असाधारण उपलब्धि हासिल गरेको अन्तर्राष्ट्रिय मानक (सूचकांक)लाई बैठक उद्घाटनमा प्रस्तुत गरेकामा पनि नेताहरूले आलोचना गरे। ओलीले २०७४ फागुन ३ मा सरकारको नेतृत्व सम्हालेका थिए। ‘अन्तर्राष्ट्रिय इन्डेक्समा सरकारको कामलाई ननापौं, जनताको मन–मनको इन्डेक्समा नापौं। जनता खुसी भए बाहिरी इन्डेक्स तल–माथि भए पनि हाम्रो कम्युनिस्ट सरकार निरन्तर चलिरहन्छ’, खतिवडाले भने, ‘जनता रुष्ट भए भने बाहिरी इन्डेक्सले हाम्रो यो धरहराजस्तो सरकारलाई छेक्न सक्दैन।’

उनले पार्टीको संस्थागत निर्णयबिनै सरकारले गर्ने निर्णयको स्वामित्व पछाडि थपडी बजाएर पार्टी नेताले लिन नसक्ने बताए। ‘सरकारले गरेको ठीक कामलाई ठीक भन्छौं, भन्नुपर्छ’, उनले भने, ‘तर, सरकार एक्लै निर्णय गर्दै जाने र पछाडि बसेर हामीले थपडी मार्दै जानुपर्छ भन्ने यो व्यक्तिसुहाउँदो रहेनछ भन्ने अनुभव हाम्रो समूहका साथीहरूले राख्नुभएको छ।’यो समाचार आजको अन्न्पूर्णपोष्ट दैनिकमा छ ।