आफ्नो पक्षमा जनमत देखाउन नेकपाका दुवै समूह मुठभेड मुडमा

आफ्नो पक्षमा जनमत देखाउन नेकपाका दुवै समूह मुठभेड मुडमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूह पनि आफ्नो पक्षमा जनमत देखाउन आमसभा र प्रदर्शनमा लागेको छ। ओली समूहले शुक्रबार काठमाण्डुमा प्रदर्शन र आमसभा गर्ने भएको छ। त्यसको तयारीस्वरूप ओली समूहले बुधबार मोटरसाइकल र्‍याली आयोजना गरेको छ।

नेकपाकै नेपाल–दाहाल समूहले बिहीबारका लागि आमहडताल घोषणा गरेको छ। आमहडताल सफल पार्न आह्वान गर्दै दाहाल–नेपाल समूहले बुधबार साँझ मसाल जुलुस निकाल्यो। यसरी नेकपाका दुवै पक्ष आफूलाई बलियो देखाउन र एकले अर्कोलाई निचो देखाउन सडकमा उत्रिन थालेपछि मुठभेडको सम्भावना बढेको छ।

प्रतिनिधिसभा विघटन र ओली सरकारविरुद्ध यही माघ १३ गते नेपाल–दाहाल समूहले राजधानीमा विशाल आमसभा गरेको थियो। त्यसलाई काउण्टर दिन सत्तामा रहेको ओली समूहले वाग्मती प्रदेश कमिटीको आयोजनामा शुक्रबारका लागि आमसभा तय गरेको हो। प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल–दाहाल समूहले देशभर सभा र विरोधका विभिन्न कार्यक्रम गर्न थालेपछि ओली समूह पनि उस्तै प्रकृतिका सभा र प्रदर्शनमा लागेको हो।

२०७५ साल जेठ ९ गते दुई पार्टी एकीकरण भएपछि सत्तारुढ बनेको नेकपा कानुनी रूपमा एक भए पनि राजनीतिक रूपमा विभाजित छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको हो। विभाजनपछि पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूह सडकमा पुगेको छ।

ओली समूहले सभा आयोजना गरेको अघिल्लो दिन बिहीबारका लागि नेपाल–दाहाल पक्षले आमहडताल आह्वान गर्नुले मुठभेडको सम्भावना बढेको आकलन गर्न थालिएको छ। नुवाकोटमा सोमबार ओली समूहको कार्यक्रममा पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई दाहाल–नेपाल समूहले कालो झण्डा देखाउदा झण्डै मुठभेड भएको थियो। ‘दुवै समूहले आआफ्नो पक्षमा जनमत देखाउन आमसभा गर्दै आएकाले कसले कति मानिस सडकमा ल्याउने प्रतिस्पर्धा चलिरहेको छ। जसले गर्दा एकले अर्काको कार्यक्रममा अवरोध गर्ने अवस्था आउने सम्भावना देखिएको छ। यसले मुठभेड निम्त्याउन सक्छ,’ सुरक्षा निकायका एक अधिकारीले भने।

ओली समूहको आमसभामा देशभरबाटै नेताकार्यकर्ता सहभागी हुने भएका छन्। ओली समूहले सबै सम्पर्क मञ्च, जनवर्गीय संगठनलाई आमसभामा सहभागी हुन निर्देशन दिएको छ। नेपाल–दाहाल समूहलाई काउण्टर दिने उद्देश्यले गर्न लागिएको आमसभालाई ओली समूहले प्रतिष्ठाको विषय बनाएको छ।

तर ओली समूहका वाग्मती प्रदेश अध्यक्ष आनन्द पोखरेलले यो काउण्टर आमसभा नभएको जिकिर गरेका छन्। उनले राजनीतिक सभाबाट आफ्ना धारणा सार्वजनिक गर्ने बताएका छन्। ‘हाम्रा राजनीतिक उद्देश्य र मूल्य मान्यताको विषयमा जनतामा जानकारी गराउने हेतुले सभा गर्न लागिएको हो। यो काउण्टर आमसभा होइन,’ आमसभा आयोजकसमेत रहेका पोखरेलले भने।यो समाचार आजको नागरिक दैनिकमा छ ।