काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो विधान संशोधन गर्दै वैज्ञानिक समाजवाद स्थापना गरी साम्यवादको दिशातर्फ अघि बढ्ने गरी पार्टीको नयाँ कार्यदिशा तय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार बसेको नेकपा सचिवालय बैठकले पार्टीको विधान संशोधन गर्दै कार्यदिशा परिवर्तन गर्ने निर्णय गरेको हो । यो प्रस्ताव स्थायी कमिटी हँुदै केन्द्रीय कमिटीले पारित गरेपछि लागू हुनेछ ।
तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकीकरणपश्चात् बनेको नेकपाको पार्टी कार्यदिशा विषयमा बहस हँुदै आएको थियो । यसअघि नेकपाको मार्गदर्शक सिद्धान्तः माक्र्सवाद लेनिनवाद र कार्यदिशाः समाजवाद उन्मुख जनताको जनवाद राखिएको थियो । मार्गदर्शक सिद्धान्त पुरानै राखी कार्यदिशा मात्रै परिवर्तन गर्ने निर्णय गरिएको नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले सचिवालय बैठकले पार्टीको कार्यदिशा र उपाध्यक्ष पद थप्ने गरी पार्टीको विधान संशोधन गर्ने निर्णय गरेको बताउँदै सो प्रस्तावमा स्थायी कमिटी बैठकमा थप छलफल गरिने बताए ।
तत्कालीन एमालेले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जवज) लाई कार्यदिशा बनाएको थियो भने तत्कालीन माओवादी केन्द्रले २१औं शताब्दीको जनवादलाई आफ्नो कार्यदिशा बनाएको थियो । दुवैका विचारलाई समायोजन गरेर यसअघि एकीकृत नेकपाले आफ्नो कार्यदिशा समाजवाद उन्मुख जनताको जनवाद बनाएको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।




प्रतिक्रिया