भियतनामसँग ५-१ ले पराजित नेपाल


काठमाण्डु- पेरिस ओलम्पिक २०२४ एसिया छनोट पहिलो चरणको खेलमा नेपाल भियतनामसँग ५-१ गोलको नतिजामा पराजित भएको छ ।

त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा जारि खेलको ११औं मिनेटमा फाम हाई एङको गोलमा भियतनामले अग्रता लिएको थियो । बाँयातर्फबाट एनग्यूएन थी ट्राङले दिएको क्रसमा उनले हेडर मार्फत सुन्दर गोल गरेकी थिइन् ।

कप्तान ह्युन न्हुले खेलको ३६औं मिनेटमा पेनाल्टीमा गोल गर्दै भियतनामको अग्रता दोब्बर पारिन । समिक्षा घिमिरेले १८ यार्ड बक्सभित्र ह्यान्ड गरेपछि भियतनामले पेनाल्टि पाएको थियो । सोहि पेनाल्टिमा कप्तान ह्युनको प्रहार गोलमा परिणत भएको थियो ।

घरेलु टिममाथि निरन्तर आक्रमण गरेको भियतनामले त्यसको दुई मिनेट नबित्दै ३–० को अग्रता बनायो । ३८औं मिनेटमा एनगुइन थीले गरेको प्रहार नेपालकी डिफेन्डर अमृता जैसीलाई डिफ्लेक्ट हुँदै पोष्टको दिशा लिएको थियो ।

पहिलो हाफामा ३–० गोलको अग्रता बनाएको भियतनामले ४८औं मिनेटमा नेपालमाथि चौथो गोल थप्यो । होआङ थी लोनको क्रसमा कप्तान ह्युनको प्रहारमा नेपालकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा निरिह बनिन् ।

त्यसपछि केहि सम्हालिएको नेपालका लागि ७९औं मिनेटमा साबित्रा भण्डारीले एक गोल फर्काएकी थिइन् । मिडफिल्डर सरु लिम्बुले सेन्टर सर्कल नजिकैबाट दिएको क्रसमा भियतनामकी गोलकिपर खोङ थी हाङलाई बिट गर्दै उत्कृष्ट गोल गरेकी थिइन् ।

खेलको इन्जिुरी समयमा सब्सिट्युट खेलाडी न्यूयन थी थानाहले भियतनामका लागि पाँचौं गोल गर्दै ५-१ ले जित शुनिस्चित गरिन् । त्यसअघि, खेलको ७औं मिनेटमा भियतनामले अग्रता लिने अवसर खेर फालेको थियो । एनग्यूएन थी ट्राङलले दिएको क्रसमा हाई एङले दिएको प्रहार फ्रेममा परेन ।

खेलको नवौं मिनेटमा दिपा शाहीको क्रसमा पोष्टको ठिक अगाडी रहेकी अमिषा कार्कीको प्रहार क्रसबाट माथिबाट बाहिरिदा नेपाल अग्रता लिने सुन्दर मौकाबाट चुक्यो ।

नेपालका लागि खेलको ३४औं मिनेटमा अमृता जैसीले सेन्टर सर्कल नजिकै बाट दिएको क्रसमा अमिशाकार्कीको प्रहार भियतनामकी गोलकिपरले बचाएकी थिइन् ।

ओलम्पिक छनोटमा नेपालले भियतनामसँग दुई खेल खेल्ने छ । दोस्रो खेल सनिबार दशरथ रंगशालामा हुनेछ । दोस्रो खेलमा भियतनामलाई ५-० गोलको नतिजामा पराजित गरे मात्रै नेपाल दोस्रो चरणका लागि छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement