नेपालको पहिलो जित, अमेरिका ६ विकेटले पराजित


काठमाण्डु- जिम्बाबेमा जारी आईसीसी विश्वकप छनोट खेलमा नेपालले अमेरिकामाथि सहज जित निकालेको छ । ताकशिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो ।

जितको लागि अमेरिकाले दिएको २०८ रनको मध्यम लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि भीम सार्कीले अर्धशतकिय पारी खेले । उनले ७ चौका र १ छक्काको मद्धतमा ७७रन बनाए । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ३९ र १२ रन जोडे । यस्तै, कप्तान रोहित पौडेलले १६ रन, कुशल मल्लले १३ रन र दीपेन्द्रसिंह ऐरीले ३९ रनको योगदान गरे ।

अमेरिकाका लागि सौरभ नेत्रावलकर, नोस्टुस केन्जिगे, निसर्ग केतनकुमार पटेल र स्टीवन टेलरको नाममा एक/एक विकेट रह्यो । यसअघि टस हारेर ब्याटिङ थालेको अमेरिकाले नेपालका तीव्र गतिका बलर करण केसीको उत्कृष्ट बलिङका बाबजुद ४९ ओभरमा १० विकेट गुमाउँदै २०७ रन बनाएको थियो ।

अमेरिकाका लागि विकेटकिपर शायन जहाँगीरले उत्कृष्ट शतक प्रहार गरे । उनले ७९ बलमा १० चौका र ३ छक्काको मद्धतमा १०० रनको योगदान गरे । सुशान्त मोदनीले ४२ रन, गजानन्द सिंहले २६ रन बनाउँदा कप्तान आरोन जोन्स भने २ रनमै आउट भए ।

यस्तै, स्टीवन टेलरले ४ रन, नोस्टुस केन्जिगेले १ रन, निसर्ग केतनकुमार पटेलले ८ रन, जसदीप सिंहले १२ रन, सौरभ नेत्रावलकरले ४ रन बनाए । साइतेजा मुक्कामल्ला भने डकआउट भए ।

नेपालका लागि करण केसीले उत्कृष्ट सुरुवात गरे । केसीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर टेलरलाई एलबीडब्लू आउट गरे । लगत्तै अर्को बलमा युवा ब्याटर साइतेजालाई आरिफ शेखबाट क्याच आउट गराए । उनले चार विकेट लिए ।

यस्तै, गुलसन झाले तीन विकेट लिँदा दिपेन्द्र सिंह ऐरीले दुई र ललित राजवंशीको नाममा एक विकेट रह्यो । यता, स्पिनर सन्दीप लामिछाने ओडिआई क्रिकेटमा पहिलो पटक लगातार दुई खेलमा विकेट विहीन बनेका छन् । उनी अमेरिकाविरुद्ध सन्दीप विकेट विहीन बनेका छन् ।

सन्दीपले अमेरिकाविरुद्ध १० ओभरमा ५८ रन खर्चिदा विकेट लिन सकेनन् । सन्दीप पहिलो खेलमा आइतबार जिम्बावेविरुद्ध १० ओभरमा ७७ रन खर्चेर विकेट विहीन बनेका थिए । यो नेपालको पहिलो जित हो । यसअघि पहिलो खेलमा नेपाल जिम्बाब्बेसँग ८ विकेटले पराजित भएको थियो । अब नेपालले वेस्ट इन्डिज र नेदरल्याण्डसँग खेल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement