चारवटा विश्व किर्तिमान बनाउदैँ नेपालको विजयी सुरुवात


काठमाण्डु- नेपालले क्रिकेटमा चारवटा विश्व किर्तिमान बनाएको छ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले चारवटा विश्व किर्तिमान बनाएको हो ।

मंगोलियालाई २ सय ७३ रनले पराजित गरेर नेपालले टी–२० अन्तर्राष्ट्रिय खेलमा रनको हिसाबले सबैभन्दा ठुलो अन्तरको जीत हासिल गरेर यो किर्तिमान कायम गरेको हो ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान यसअघि चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएर विश्व किर्तिमान कायम गरेको थियो ।

पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलेको मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिदै नेपालले ती किर्तिमान कायम गरेको हो । नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोडेको थियो ।

जारी खेलमा नेपालले टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएको छ, यसअघि कुनै पनि टोलीले २ सय ७८ रनसम्म बनाएका रेकर्ड थियो ।

यता, नेपालका दीपेन्द्रसिंह ऐरी सर्वाधिक कम बलमा टी–२० अर्धशतक पुरा गर्ने ब्याट्सम्यानको किर्तिमान कायम गरेका छन, उनले ९ बलमै अर्धशतक पुरा गरेर सो रेकर्ड कायम गरेका हुन । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान नेपाली क्रिकेटर ऐरीले तोडेका हुन् ।

उता, कुशल मल्ल पनि सर्वाधिक कम बलमा शतक पुरा गरेर नयाँ विश्व कीर्तिमान बनाउन सफल भएका छन्। उनले ३४ बलमा शतक पुरा गरेका छन । यसअघि ३५ बलमा शतक पुरा गरेको विश्व कीर्तिमान कायम रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement