मुम्बई उड्न लागेको जहाजबाट ‘आतंकवादी’ भन्दै पक्राउ परेका व्यक्ति को हुन् ?


काठमाण्डु- काठमाण्डुबाट भारतको मुम्बई उड्न लागेको नेपाल वायुसेवा निगमको जहाजबाट पक्राउ परेका शंकास्पद व्यक्ति सुनचाँदी व्यवसायमा संलग्न रहेको खुलेको छ ।

बुधबार दिउँसो जहाजमा रहेका व्यक्ति आतंकवादी संगठनमा रहेको भन्ने विशेष सूचनाका आधारमा सुरक्षामा खतरा आउने आशंकापछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सन्तोष लामिछाने र मीना लामिछानेलाई नियन्त्रणमा लिएको थियो । जुन सूचना कैलाली प्रहरीले पठाएको थियो ।

त्यसपछि दिउँसो १ः१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी आरए ३२० जहाजलाई अनुसन्धानका लागि रोकेर चेकजाँच गरेको थियो । तर, कैलाली घर भएका उनीहरु आतंकवादमा संलग्न व्यक्ति नभई ठगीमा आरोपी रहेको खुलेको हो । उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको थियो । त्यसकै आधारमा कैलाली प्रहरीले प्रधान कार्यालयमा जानकारी गराएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

श्रीमान-श्रीमतीका रुपमा रहेका उनीहरु सुदूरपश्चिम सुनचाँदी व्यवसायी संघमा आबद्ध रहेका छन् । हाल उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement