काठमाण्डु – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले असोज २४ गते बडादशैंको फुलपातिका दिन काठमाण्डु–भैरहवा गन्तव्यमा उद्धार उडान गर्ने भएको छ ।
दशैंमा यात्रुलाई सहज रूपमा गन्तव्यमा पुर्याउने उद्देश्यले निगमले काठमाण्डु–भैरहवा–काठमाण्डु उद्धार उडान गर्ने निर्णय गरेको हो ।
निगमको न्यारोबडी ए ३२० विमानबाट उद्धार उडान गर्ने निर्णय भएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । राष्ट्रलाई समस्या परेका बेला राष्ट्रिय दायित्व र जिम्मेवारीलाई बहन गर्दै निगमले सरकारको निर्देशनमा उद्धार उडान गर्न लागेको उनले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको निर्देशन अनुरूप भैरहवामा उद्धार उडान गर्न लागिएको निगमले उल्लेख गरेको छ । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाण्डु उपत्यकाबाट बाहिर जाने/आउने राजमार्ग बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएको हुँदा स्थल आगमनमा कठिनाइ भएको सन्दर्भमा यात्रुको सहजताका निम्ति निगमले उद्धार उडानको निर्णय लिएको छ ।
निगमको उडान तालिका अनुसार २४ गते उडान नम्बर आएए १७ ३३ विमान काठमाण्डुबाट बिहान ११ बजे भैरहवाका लागि उडान भर्नेछ । भैरहवाबाट काठमाण्डु उडान नम्बर आरए १७४३ १२ः ३० बजे भर्नेछ । काठमाण्डु–भैरहवा ७ हजार र भैरहवा–काठमाण्डु ३ हजार ८९० रुपैयाँ निर्धारण गरिएको छ ।




प्रतिक्रिया