दक्षिण सुडानमा भड्किन लागेको हिंसा नेपाली सेनाको सक्रियतामा रोकियो


सुडान – क्युवेटमा सशस्त्र समूहहरूबीचको सम्भावित झडपलाई नेपाली शान्ति सेनाले रोकेको छ ।

क्युवेटमा दुई समूहबीच झडप हुन लागेको खबर पाएसँगै केही मिनेटमा नै उक्त क्षेत्रमा नेपाली सेनाको टोली पुगेर स्थिति नियन्त्रणमा लिएको दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसन (अनमिस) ले उल्लेख गरेको छ ।

दक्षिण सुडानको लेक क्षेत्रको क्युवेट शहरको उत्तरमा १२ किलोमिटर उत्तरमा पर्ने गाईवस्त शिविरमा एक युवकको हत्या भएको विषयलाई लिएर भड्किन लागेको हिंसालाई सेनाले नियन्त्रणमा लिएको हो । घटनाको एक दिन पछि उक्त समुदायका करीव ६० जना सदस्यहरूले हतियारहरू जम्मा गरेर उनको मृत्युको बदला लिन शहरतर्फ लागेको अनमिसले जनाएको छ ।

उक्त शहरमा प्रतिकारका लागि अर्को एक सय जनाको समूह हतियारसहित बसेको सूचना नेपाली सेनाको टोलीले प्राप्त गरेको थियो ।

नेपाली टोलीले तुरुन्त सैनिकहरुको एक पल्टन पठाउँदै उक्त समूहहरुलाई रोकेको थियो । शान्ति सेनाले स्थानीय प्रहरीको सहयोगमा काम गरेको थियो सो समूहले धम्कीको जवाफ पनि दिएका थिए ।

‘हाम्रो काम भनेको सुरक्षा अवस्थाको आँकलन गर्नु, सशस्त्र समूहहरुलाई रोक्नको लागि इलाकामा पेट्रोलिङ्ग गर्नु, सुरक्षा उपलब्ध गराउनु र आवश्यक परेमा सर्वसाधारणलाई संरक्षण गर्न हस्तक्षेप गर्नु थियो’, नेपाली क्विक रियाक्शन फोर्सका कमाण्डर कप्तान बिज्ञान बिष्टले भने ।

अनमिस र स्थानीय सुरक्षाकर्मीहरुको संयुक्त प्रयासले सशस्त्र समूह आफ्नो गाउँ फर्किएका छन् । सम्भावित हिँसात्मक झडप रोक्न सहयोग गरेको भन्दै त्यहाँका जनताले आफ्नो धन्यवाद दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement