एक हजार शैयाको अस्पताल निर्माण गर्न सेनालाई सरकारको निर्देशन


काठमाण्डु – सरकारले नेपाली सेनालाई एक हजार बेडको अस्पताल निर्माण गर्न निर्देशन दिएको छ ।

रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले कोरोना भाइरसको संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै एक हजार बेडको अस्पताल निर्माण गर्न सेनालाई निर्देशन दिएका हुन् ।

‘नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शैयाको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको छ’, सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोलीले भने ।

उनले वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शैया भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिने पनि बताए ।

‘प्रदेश सरकारले पनि उक्त प्रदेशमा रहेका मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा र साना अस्पताललाई नन–कोभिड अस्पतालको रूपमा सञ्चालन गर्नेछन्’, प्रधानमन्त्री ओलीले भने ।

उनले कोभिडको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि तथा अन्य जीवनरक्षक औषधि प्रत्येक अस्पतालले मौज्दातमा राख्नुपर्ने व्यवस्था गरिएको बताए । प्रधानमन्त्री ओलीले यस्ता औषधिको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कडा कारबाही गरिने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement