विश्व वन्यजन्तु कोषले गर्‍यो नेपाली सेनालाई विशेष सम्मान

विश्व वन्यजन्तु कोषले गर्‍यो नेपाली सेनालाई विशेष सम्मान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – करिब ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा कार्यमा पुर्‍याएको योगदानको सम्मान गर्दै विश्व वन्यजन्तु कोष नेपाल (डब्लूडब्लूएफ)ले नेपाली सेनालाई विशेष सम्मान प्रदान गरेको छ ।

कोषको ३३औँ स्थापना दिवसका अवसरमा प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।

सन् २०११, २०१३, २०१५, २०१६, २०१८ र २०१९ लाई शून्य सिकार वर्षका रूपमा मनाउन सफल भएकाले सेनाका विभिन्न छवटा युनिट ‘अब्राहम कन्जर्भेसन अवार्ड’ बाट पनि सम्मानित भएका थिए ।

साथै बर्दिया राष्ट्रिय निकुञ्ज यसअघि ‘डबल टाइगर अवार्ड’ बाटसमेत सम्मानित भएकामा यस वर्ष वन्यजन्तु कोषले पनि विशेष सम्मान प्रदान गरेको छ ।

नेपाली सेना २०३२ बाट औपचारिक रूपमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ हुँदै आएको र हाल १२ वटा राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष र एक सिकार आरक्षको संरक्षणमा आठवटा गण, सात अनाश्रित गुल्म र एक प्रकृति संरक्षण शिक्षालय तैनाथ छन् ।

यी युनिटका करिब हजारभन्दा बढी फौज निरन्तर परिचालित हुँदै आएको छ ।

यसको परिणामस्वरूप सन् २००९ मा १२१ को सङ्ख्यामा रहेको पाटे बाघ हाल ३५५ र सन् २००५ मा ४०० को सङ्ख्यामा रहेको एकसिङ्गे गैँडा हाल ७५२ मा वृद्धि भएको छ ।

जटिल भौगोलिक बनावट तथा मौसमी प्रतिकूलता एवं विषम परिस्थितिका बाबजुद प्रकृति र पर्यावरणको संरक्षणका क्षेत्रमा सुम्पिएको जिम्मेवारी सेनाले सफलतापूर्वक सम्पादन गर्दै आइरहेको र यसक्रममा हालसम्म नेपाली सेनाका ११६ जनाको ज्यान गएको पनि सेनाले जनाएको छ ।