सकियो सेनाका पृतनापतिको समन्वयात्मक बैठक, विपद् प्रतिकार्य र सुरक्षा तयारीमा जोड

सकियो सेनाका पृतनापतिको समन्वयात्मक बैठक, विपद् प्रतिकार्य र सुरक्षा तयारीमा जोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक शुक्रबार सम्पन्न भएको छ। असोज १५ गतेदेखि सुरू भएको बैठक विभिन्न विषयमा गम्भीर छलफल र समीक्षापछि शुक्रबार सम्पन्न भएको हो।

बैठकमा वर्तमान परिस्थितिको विश्लेषण, सम्पन्न भएका कार्यहरूको समीक्षा, जिम्मेवारी क्षेत्रभित्र भइरहेका गतिविधि तथा विपद् प्रतिकार्यलगायत समसामयिक विषयमा छलफल गरिएको नेपाली सेनाले जनाएको छ।

बैठकमा पछिल्लो मनसुनका कारण उत्पन्न विपद् तथा विभिन्न क्षेत्रमा आएका बाढीपहिरोबाट सिर्जित परिस्थितिमा सेनाको तयारी, समन्वय र प्रभावकारी प्रतिकार्यका विषयमा विशेष छलफल भएको थियो।

त्यस्तै, विभिन्न जिम्मेवारी क्षेत्रमा कार्यरत कमान्डर तथा सम्बन्धित अधिकारीहरूले आफ्नो कार्यक्षेत्रका अनुभव, उपलब्धि र चुनौतीहरू प्रस्तुत गरेका थिए। संस्थागत कार्यसम्पादन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन व्यावहारिक उपायबारे समेत छलफल गरिएको थियो।

छलफलपछि निर्देशनात्मक सम्बोधनका क्रममा प्रधान सेनापति अशोकराज सिग्देलले भोटेकोशी बाढीपछिको उद्धारसहित देशको वर्तमान सुरक्षा अवस्था र अन्य चुनौतीबारे भनाइ राखेका थिए।

बैठकले विपद्का समयमा आवश्यक स्रोतसाधनको परिचालन, सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र समयमै उद्धार तथा राहत कार्य सञ्चालनका लागि तयारीलाई थप मजबुत बनाउने विषयमा जोड दिएको छ।

नेपाली सेनाको नियमित समन्वय तथा समीक्षा प्रक्रियाअन्तर्गत आयोजना गरिएको बैठकले वर्तमान सुरक्षा परिस्थिति, सञ्चालनगत तयारी, विपद् व्यवस्थापन तथा संस्थागत कार्यसम्पादनका विषयमा कमान्डरहरूबीच अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको सेनाले जनाएको छ।