जनसेवादेखि अन्तर्राष्ट्रिय पहिचानसम्म : नेपाली सेनाको व्यावसायिक क्षमता र राष्ट्रिय गौरव

जनसेवादेखि अन्तर्राष्ट्रिय पहिचानसम्म : नेपाली सेनाको व्यावसायिक क्षमता र राष्ट्रिय गौरव

क्याम्ब्रियन पेट्रोलमा अर्को सफलता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेलायतमा आयोजित क्याम्ब्रियन पेट्रोल प्रतियोगितामा नेपाली सेनाले फेरि स्वर्ण पदक जितेको समाचारले यस साता नेपाली सञ्चारमाध्यममा प्रमुख स्थान पाएको छ । नेपाली सेनाको अवकाशप्राप्त सदस्यका नाताले यस उपलब्धिप्रति गर्व लाग्नु स्वाभाविक हो ।

संयोगवश यही उपलब्धि सार्वजनिक हुँदा प्रधानसेनापति मित्रराष्ट्र बेलायतको औपचारिक भ्रमणमा हुनुहुन्थ्यो । प्रतियोगितामा सहभागी सैनिकहरूसँग तस्बिर खिचाएर उनीहरूको हौसला बढाउने अवसर उहाँलाई पनि प्राप्त भयो होला ।

तर यो गर्व नेपाली सेनाका बहालवाला वा अवकाशप्राप्त सैनिकको मात्र होइन । यो सम्पूर्ण नेपालीको गौरव र साझा उपलब्धि हो । राष्ट्रिय सेनाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आफ्नो व्यावसायिक क्षमता प्रमाणित गर्नु देशकै प्रतिष्ठासँग जोडिएको विषय हो ।

सन् २०१४ देखि क्याम्ब्रियन पेट्रोलमा सहभागी हुन थालेको नेपाली सेनाले सन् २०१७, २०१९, २०२४, २०२५ र २०२६ मा गरी पाँच पटक स्वर्ण पदक जित्नु र पछिल्ला तीन वर्ष लगातार स्वर्ण पदक हासिल गर्नु उल्लेखनीय सफलता हो ।

नेपाली सेनाको उत्कृष्टता क्याम्ब्रियन पेट्रोलमा प्राप्त पदकमा मात्र सीमित छैन । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाका अभियानमा नेपाली सैनिकले निर्वाह गरेको जिम्मेवारी, प्राकृतिक विपद्का बेला देखाएको साहस र कठिन परिस्थितिमा नागरिकको जीवन रक्षाका लागि गरेको समर्पण पनि उत्तिकै प्रशंसनीय छन् ।

यहाँ व्यक्तिगत बहादुरी मात्र पर्याप्त हुँदैन । टोलीका प्रत्येक सदस्यको सीप, अनुशासन, सहनशीलता, निर्णय क्षमता र एकअर्काप्रतिको विश्वास पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

द्वन्द्वग्रस्त मुलुकमा खटिएका नेपाली शान्ति सैनिकको कामको संयुक्त राष्ट्रसंघ, सम्बन्धित मिसनका नेतृत्व र आयोजक राष्ट्रहरूले प्रशंसा गर्दै आएका छन् । नयाँ क्षेत्रमा शान्ति सेना परिचालन गर्नुपर्ने अवस्थामा नेपाली सेनालाई प्राथमिकतामा राखिनु पनि यसको व्यावसायिक विश्वसनीयताको प्रमाण हो ।

गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीको त्रासदी हामीले अझै बिर्सेका छैनौँ । उर्लिरहेको भोटेकोसीको विनाशकारी प्रवाह र त्यसले निम्त्याएको विध्वंसको दृश्य लामो समयसम्म नेपालीको स्मृतिमा रहिरहनेछ ।

आफ्नै ४५ जना सहकर्मीको अवस्थासमेत अज्ञात रहेका बेला जलविद्युत् आयोजनाका अँध्यारा र हिलाम्मे सुरुङभित्र फसेका नेपाली तथा विदेशी नागरिकको उद्धारका लागि भोक, प्यास र आफ्नै ज्यानको समेत पर्वाह नगरी खटिएका नेपाली सेनाका जवान तथा अधिकृतको योगदान पनि उत्तिकै स्मरणीय छ ।

यस्ता उपलब्धि र योगदान हुँदाहुँदै पनि कहिलेकाहीँ नेपाली सेनाको व्यावसायिक दक्षता, क्षमता र आवश्यकतामाथि प्रश्न उठ्ने गरेका छन् । प्रश्न उठ्नु आफैँमा अस्वाभाविक होइन ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रमाणित भएको क्षमतालाई आधार बनाएर सेनाका अन्य पक्षको समेत निरन्तर सुधार गर्नुपर्छ । हाम्रो इतिहास पनि कम महत्त्वपूर्ण छैन ।

सार्वजनिक संस्थाले आफ्नो कामको मूल्याङ्कन र आलोचनालाई स्वाभाविक रूपमा लिनुपर्छ । तर मूल्याङ्कन गर्दा तथ्य, योगदान, जिम्मेवारी, उपलब्ध स्रोतसाधन र संस्थागत सीमालाई समेत विचार गर्नुपर्छ ।

त्यसैले प्रश्न उठ्छ–के नेपाली सेनाको व्यावसायिक क्षमता र योगदानलाई सहजै नजरअन्दाज गर्न मिल्छ ? अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त ख्याति र विपद्का बेला देखाएको सेवाभावको कुनै महत्त्व छैन ? यी प्रश्नको जवाफ भावनामा मात्र होइन, तथ्य र विवेकपूर्ण विश्लेषणमा खोजिनुपर्छ ।

सीप, सहनशीलता र सामूहिक क्षमताको परीक्षा

क्याम्ब्रियन पेट्रोल बेलायती सेनाले सन् १९५९ मा स्थापना गरेको र सन् १९६० देखि बेलायतको वेल्समा वार्षिक रूपमा आयोजना गर्दै आएको कठिन सैनिक प्रतिस्पर्धा हो । यसमा सहभागी सैनिक टोलीको शारीरिक क्षमता, मानसिक दृढता, नेतृत्व, सामूहिक कार्य र आधारभूत सैनिक सीपको परीक्षण गरिन्छ ।

उपलब्ध विवरणअनुसार सन् २०२६ को प्रतियोगितामा ३५ देशका १४० टोली सहभागी भएका थिए । अमेरिका, भारत, बेलायत, पाकिस्तान, जापान, फ्रान्स, अस्ट्रेलिया, स्पेन, मेक्सिको, केन्या, फिलिपिन्स र चिलीलगायतका देशका सैनिक टोलीले प्रतिस्पर्धा गरेका थिए । बेलायतबाट मात्रै नियमित सेना, रिजर्भ सेना, युनिभर्सिटी अफिसर्स ट्रेनिङ कोप्र्स र संयुक्त पेट्रोल टोलीको सहभागिता थियो ।

आठ सदस्यीय टोलीले ४८ घण्टाभित्र करिब ६० किलोमिटर दूरी पार गर्दै विभिन्न चुनौतीपूर्ण कार्य सम्पन्न गर्नुपर्छ । जीपीएसको प्रयोगबिना रणनीतिक दिशानिर्धारण, रक्षात्मक कारबाही, रासायनिक, जैविक, विकिरणजन्य तथा आणविक जोखिमबाट सुरक्षा, पानीका अवरोध पार गर्ने क्षमता, प्राथमिक उपचार, घाइतेको उद्धार, गुप्तचरी र सूचना सङ्कलनजस्ता कार्य यस प्रतियोगिताका महत्त्वपूर्ण अङ्ग हुन्। टोलीका प्रत्येक सदस्यले कम्तीमा ७५ प्रतिशत अङ्क प्राप्त गरेमा मात्र स्वर्ण पदक हासिल गर्न सक्ने व्यवस्था छ ।

यसले प्रतियोगिताको कठिनाइ र त्यसमा सफलता हासिल गर्न आवश्यक पर्ने सैनिक दक्षताको स्तर स्पष्ट पार्छ । यहाँ व्यक्तिगत बहादुरी मात्र पर्याप्त हुँदैन । टोलीका प्रत्येक सदस्यको सीप, अनुशासन, सहनशीलता, निर्णय क्षमता र एकअर्काप्रतिको विश्वास पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

बेलायती साम्राज्यसँगका युद्धदेखि चीनसँगको युद्धसम्म नेपाली सैनिकले देखाएको साहस, अनुशासन र युद्धकौशल नेपालको सैनिक इतिहासका महत्त्वपूर्ण अध्याय हुन् ।

नेपाली सेनाले सन् २०१७, २०१९, २०२४, २०२५ र २०२६ मा स्वर्ण पदक जित्नुले यी पक्षमा उसको क्षमता प्रमाणित गरेको छ । नेपाली सेना किन पटक–पटक उत्कृष्ट हुन्छ त ? यसको प्रमुख कारण हाम्रो पैदल सेनाको व्यावसायिक क्षमता, कठिन परिस्थितिमा काम गर्न सक्ने सामथ्र्य र सामूहिक कार्यप्रतिको प्रतिबद्धता हो ।

सैनिक विज्ञान र रणनीतिको अध्ययन गर्नेहरूले पैदल सेनाको महत्त्व राम्ररी बुझेका हुन्छन् । पैदल सेनालाई परम्परागत रूपमा ‘युद्धभूमिको रानी’ अर्थात् ‘क्विन अफ द ब्याटल’ भनिन्छ । आधुनिक युद्धको स्वरूप विज्ञान र प्रविधिको विकाससँगै बदलिएको छ ।

ड्रोन, साइबर क्षमता, सटीक प्रहार गर्ने हतियार, निगरानी प्रणाली र कृत्रिम बुद्धिमत्ताले युद्ध सञ्चालनको प्रकृति परिवर्तन गरेका छन् । तथापि, भूभाग नियन्त्रण, प्रत्यक्ष परिचालन, नागरिक सुरक्षा र कठिन क्षेत्रमा कारबाही सञ्चालन गर्न पैदल सेनाको आवश्यकता समाप्त भएको छैन ।

क्याम्ब्रियन पेट्रोलमा नेपाली सेनाले देखाएको उत्कृष्टता यही व्यावसायिक क्षमताको एउटा उदाहरण हो । तर प्रतियोगितामा सफलता हासिल गरेको तथ्यलाई सेनाका सबै पक्ष पूर्ण रूपमा सक्षम छन् भन्ने निष्कर्षका रूपमा लिनु पनि उचित हुँदैन । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रमाणित भएको क्षमतालाई आधार बनाएर सेनाका अन्य पक्षको समेत निरन्तर सुधार गर्नुपर्छ । हाम्रो इतिहास पनि कम महत्त्वपूर्ण छैन ।

बेलायती साम्राज्यसँगका युद्धदेखि चीनसँगको युद्धसम्म नेपाली सैनिकले देखाएको साहस, अनुशासन र युद्धकौशल नेपालको सैनिक इतिहासका महत्त्वपूर्ण अध्याय हुन् । ती ऐतिहासिक घटनालाई वर्तमान क्षमताको एकमात्र प्रमाण बनाउनुको सट्टा तिनबाट प्रेरणा लिँदै आजको आवश्यकता र चुनौतीअनुसार सेनालाई सक्षम बनाउनु आवश्यक छ ।

योगदानसँगै कूटनीतिक शक्ति

नेपालले सन् १९५८ देखि संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाका अभियानमा सैनिक योगदान दिन थालेको हो । त्यसयता करिब एक लाख ६० हजार नेपाली सुरक्षाकर्मीले विश्व शान्तिका लागि विभिन्न मिसनमा सेवा गरिसकेको बताइन्छ । यस अवधिमा ७० भन्दा बढी नेपाली अधिकृत तथा जवानले ज्यान गुमाएका छन् भने सयौँ घाइते भएका छन् वा अङ्गभङ्ग भएका छन् ।

अहिले पनि पाँच हजार आठ सयभन्दा बढी नेपाली सुरक्षाकर्मी विभिन्न शान्ति स्थापना अभियानमा खटिएका छन्। शान्ति सेनामा ठूलो सङ्ख्यामा सैनिक पठाउने देशमध्ये नेपाल अग्रस्थानमा छ ।

नेपाली सैनिकलाई शान्ति स्थापनाका अभियानमा किन प्राथमिकता दिइन्छ ? यसको जवाफ उनीहरूको व्यावसायिक दक्षता, अनुशासन, अनुकूलन क्षमता र कठिन परिस्थितिमा काम गर्न सक्ने सामथ्र्यमा खोज्न सकिन्छ ।

परम्परागत सैनिक सीपसँगै आधुनिक प्रविधि, सूचना विश्लेषण, निगरानी, सञ्चार र जोखिम व्यवस्थापनका क्षमता पनि विकास गर्दै जानुपर्छ ।

शान्ति स्थापनाका अभियानमा सैनिकले हतियार चलाउने सीप मात्र प्रदर्शन गरेर पुग्दैन । स्थानीय समुदायसँग समन्वय, नागरिकको सुरक्षा, मानवीय सहायता, द्वन्द्वको संवेदनशीलता बुझ्ने क्षमता र विभिन्न देशका सैनिकसँग सहकार्य गर्न सक्ने गुण पनि आवश्यक हुन्छ । कठिन भूगोल र प्रतिकूल वातावरणमा काम गर्नुपर्ने अवस्थामा शारीरिक तथा मानसिक दृढताको विशेष महत्त्व हुन्छ ।

नेपाली सैनिकले यस्ता जिम्मेवारीमा लामो समयदेखि योगदान गर्दै आएका छन्। यही अनुभव र व्यावसायिक विश्वसनीयताले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउन सहयोग गरेको छ ।

शान्ति सेना नेपालको कूटनीतिक क्षमताको महत्त्वपूर्ण आधार पनि हो । तुलनात्मक रूपमा सीमित आर्थिक तथा सामरिक स्रोत भएको मुलुकका लागि अन्तर्राष्ट्रिय शान्ति स्थापनामा विश्वसनीय योगदान पुर्‍याउनु विश्व समुदायसँग सम्बन्ध सुदृढ गर्ने प्रभावकारी माध्यम हो । यसबाट नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति र पहिचान बलियो बनाउन सक्छ ।

यद्यपि, शान्ति सेनामा प्राप्त सफलताले आधुनिक सैनिक प्रविधि, उपकरण र रणनीतिक क्षमताको आवश्यकता समाप्त गर्दैन । परम्परागत सैनिक सीपसँगै आधुनिक प्रविधि, सूचना विश्लेषण, निगरानी, सञ्चार र जोखिम व्यवस्थापनका क्षमता पनि विकास गर्दै जानुपर्छ ।

विपद्मा सेना

नेपाली सेनाको भूमिका राष्ट्रिय सुरक्षामा मात्र सीमित छैन । भूकम्प, बाढीपहिरो, हिमाली विपद् र महामारीजस्ता संकटमा नागरिकको जीवन रक्षा गर्नु पनि यसको महत्त्वपूर्ण जिम्मेवारी हो ।

गत भदौ १० गते रसुवामा आएको बाढीका बेला सेनाले गरेको खोज तथा उद्धार कार्यले कठिन परिस्थितिमा सैनिकले निर्वाह गर्ने जिम्मेवारी पुनः उजागर गरेको छ । जलविद्युत् आयोजनाका सुरुङमा मानिस फसेको आशङ्का, जोखिमपूर्ण भूभाग र प्रतिकूल वातावरणबीच उद्धार कार्य सञ्चालन गर्नु सहज थिएन । यस्तो अवस्थामा आफ्नै सहकर्मीको अवस्थासमेत अज्ञात रहँदा पनि अरूको जीवन रक्षाका लागि खटिनु उच्चस्तरको व्यावसायिक अनुशासन र सेवाभावको उदाहरण हो ।

२०७२ सालको विनाशकारी भूकम्पका बेला पनि नेपाली सेना उद्धार, राहत वितरण र प्रभावित नागरिकको सहयोगमा व्यापक रूपमा परिचालित भएको थियो । आफ्नै घर भत्किएको र परिवार कठिन अवस्थामा रहेको समयमा समेत सैनिकहरूले आफूलाई तोकिएको जिम्मेवारी पूरा गरेका घटनाले उनीहरूको कर्तव्यबोध देखाउँछन् ।

कोभिड–१९ महामारीका बेला पनि नेपाली सेनाले स्वास्थ्य तथा सुरक्षा निकायसँग समन्वय गर्दै विभिन्न जिम्मेवारी निर्वाह ग¥यो । सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन तथा अन्त्येष्टिमा परिवारलाई सहयोग गर्नुपर्ने अत्यन्त संवेदनशील परिस्थितिमा सैनिकहरू खटिएका थिए । यस्तो कामका लागि प्राविधिक दक्षतासँगै मानसिक दृढता, संवेदनशीलता र मानवीय दृष्टिकोण आवश्यक पर्छ ।

यी उदाहरणले नेपाली सेनाको एउटा महत्त्वपूर्ण पक्ष देखाउँछन्–संकटका बेला उपलब्ध जनशक्ति र साधनस्रोत परिचालन गरेर नागरिकको जीवन रक्षा गर्ने क्षमता ।

तर यस्ता योगदानको चर्चा गर्दा पनि संस्थागत मूल्याङ्कन सन्तुलित हुनुपर्छ । सेनाले गरेका राम्रा कामको प्रशंसा गर्नु र कमजोरीबारे प्रश्न उठाउनु परस्पर विरोधी विषय होइनन् । बरु उपलब्धिको उचित सम्मान र कमजोरीको तथ्यपरक समीक्षा सँगसँगै अघि बढ्नुपर्छ ।

प्रश्न उठ्दा के बुझ्नुपर्छ ?

हामी कहिलेकाहीँ कस्तुरीले आफ्नै नाभिबाट आएको सुगन्धको स्रोत बाहिर खोजेजस्तै आफ्नै क्षमतालाई चिन्न नसकिरहेका त छैनौँ ? नेपाली सेनाले अन्तर्राष्ट्रिय प्रतियोगिता, शान्ति स्थापना र विपद् उद्धारमा देखाएको क्षमताको मूल्याङ्कन गर्दा यो प्रश्न महत्त्वपूर्ण हुन्छ ।

तर राष्ट्रिय गौरवका नाममा कुनै पनि संस्थामाथि प्रश्न उठाउन नपाइने वातावरण बनाउनु उचित हुँदैन । लोकतान्त्रिक व्यवस्थामा सेना पनि संविधान, कानुन र नागरिक निगरानीको दायराभित्र रहन्छ । यसको व्यावसायिक क्षमता, खर्च, स्रोतसाधनको उपयोग, पारदर्शिता र संस्थागत आचरणबारे प्रश्न उठ्नु स्वाभाविक हो । प्रश्नको जवाफ तथ्य र जिम्मेवार विश्लेषणका आधारमा दिनुपर्छ ।

त्यसैगरी, कुनै व्यक्तिको कमजोरी वा कुनै घटनालाई आधार बनाएर सम्पूर्ण संस्थाको योगदान अस्वीकार गर्नु पनि न्यायोचित हुँदैन । व्यक्तिको आचरण र संस्थाको समग्र व्यावसायिक क्षमता फरक विषय हुन् । संस्थागत कमजोरी देखिए त्यसलाई पहिचान गर्ने, जिम्मेवारी निर्धारण गर्ने र सुधार गर्ने प्रक्रिया अघि बढाउनुपर्छ ।

सेनाले गरेका राम्रा कामको प्रशंसा गर्नु र कमजोरीबारे प्रश्न उठाउनु परस्पर विरोधी विषय होइनन् । बरु उपलब्धिको उचित सम्मान र कमजोरीको तथ्यपरक समीक्षा सँगसँगै अघि बढ्नुपर्छ ।

नेपाली सेनाको मूल्याङ्कन गर्दा संविधानले तोकेको भूमिका, राष्ट्रिय आवश्यकता, उपलब्ध आर्थिक स्रोत र साधनस्रोतको अवस्था पनि विचार गर्नुपर्छ । आधुनिक हतियार र प्रविधिमा अपेक्षित स्तर हासिल गर्न नसक्नुको कारण खोज्दा सेनाको आन्तरिक क्षमतासँगै देशको आर्थिक अवस्था, बजेटको प्राथमिकता र दीर्घकालीन सुरक्षा योजनालाई समेत हेर्नुपर्छ ।

नेपालजस्तो सीमित स्रोत भएको देशका लागि प्रत्येक क्षेत्रमा अत्याधुनिक सैनिक क्षमता विकास गर्नु चुनौतीपूर्ण हुन्छ । त्यसैले उपलब्ध स्रोतसाधनलाई राष्ट्रिय सुरक्षा आवश्यकताअनुसार प्राथमिकतामा राखेर उपयोग गर्नु महत्त्वपूर्ण छ ।

परम्परागत दक्षताबाट आधुनिकतातर्फ

नेपाली सेनाको पैदल फौज सक्षम छ भन्ने तथ्यलाई स्वीकार गर्दै अब त्यस क्षमतालाई आधुनिक प्रविधिसँग जोड्नु आवश्यक छ । क्याम्ब्रियन पेट्रोलमा सफलता हासिल गर्ने सीप र शान्ति स्थापनामा देखिएको अनुभवलाई आधुनिक सुरक्षा चुनौती सामना गर्ने क्षमतामा रूपान्तरण गर्न सक्नुपर्छ ।

यसका लागि आधुनिक सञ्चार प्रणाली, निगरानी उपकरण, ड्रोन तथा प्रतिड्रोन क्षमता, विपद् पूर्वसूचना प्रणाली, खोज तथा उद्धारका उपकरण, घाइतेको शीघ्र उद्धार, साइबर सुरक्षासम्बन्धी ज्ञान र सूचना विश्लेषणमा लगानी गर्नुपर्छ ।

सैनिक तालिमलाई पनि बदलिँदो युद्धकला, प्रविधि र मानवीय सुरक्षाका आवश्यकताअनुसार परिमार्जन गर्नुपर्छ ।

विशेषगरी नेपालजस्तो भौगोलिक विविधता भएको मुलुकमा हिमाली क्षेत्र, पहाडी भूभाग, नदी प्रणाली र दुर्गम बस्तीमा परिचालन हुन सक्ने क्षमता अत्यन्त महत्त्वपूर्ण छ । जलवायु परिवर्तनका कारण बढ्दै गएका बाढीपहिरो, हिमताल विस्फोट र अन्य प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै सेनाको विपद् प्रतिकार्य क्षमता अझ सुदृढ गर्नुपर्छ ।

नेपाली सेनाको व्यावसायिक सबल पक्षलाई अझ निखार्नु, आधुनिक प्रविधि र उपकरणले सुसज्जित गर्नु, पारदर्शिता र जवाफदेहिता सुदृढ बनाउनु तथा सैनिकहरूको मनोबल उच्च राख्नु हो ।

यसका लागि सेनाको मात्र प्रयास पर्याप्त हुँदैन । सरकार, नागरिक प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, प्राविधिक संस्था र अन्तर्राष्ट्रिय साझेदारबीच प्रभावकारी समन्वय आवश्यक हुन्छ । राष्ट्रिय सुरक्षा र विपद् व्यवस्थापनलाई छुट्टाछुट्टै विषयका रूपमा मात्र नहेरी एकीकृत दृष्टिकोण अपनाउनुपर्छ ।

क्याम्ब्रियन पेट्रोलमा प्राप्त स्वर्ण पदक, शान्ति स्थापनाका अभियानमा नेपाली सैनिकको योगदान र विपद्का बेला खोज तथा उद्धारमा देखाएको साहस नेपाली सेनाका प्रशंसनीय उपलब्धि हुन् । यी उपलब्धिले हाम्रो पैदल सेनाको दक्षता, अनुशासन, सामूहिक कार्य र कठिन परिस्थितिमा काम गर्न सक्ने क्षमतालाई उजागर गरेका छन् ।

यी उपलब्धिप्रति गर्व गर्नुपर्छ । तर गर्वको अर्थ कमजोरी नदेख्नु वा आलोचनाबाट टाढा रहनु होइन । उपलब्धिको सम्मान गर्दै कमजोरी पहिचान गर्ने, आवश्यक सुधार गर्ने र बदलिँदो समयअनुसार संस्थालाई सक्षम बनाउने प्रतिबद्धता नै वास्तविक संस्थागत विकासको आधार हो ।

नेपाली सेनाजस्तो ठूलो संगठनमा व्यक्तिगत कमजोरी देखिन सक्छ । त्यस्ता कमजोरीलाई संस्थागत सुधारको अवसरका रूपमा लिनुपर्छ । त्यसैगरी, व्यक्तिगत कमजोरीका आधारमा सम्पूर्ण संस्थाको योगदानलाई अस्वीकार गर्नु पनि उचित हुँदैन ।

आजको आवश्यकता नेपाली सेनाको व्यावसायिक सबल पक्षलाई अझ निखार्नु, आधुनिक प्रविधि र उपकरणले सुसज्जित गर्नु, पारदर्शिता र जवाफदेहिता सुदृढ बनाउनु तथा सैनिकहरूको मनोबल उच्च राख्नु हो ।

हाम्रो पैदल सेना सक्षम छ । हाम्रा सैनिकले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो व्यावसायिक क्षमता प्रमाणित गरेका छन् । अब यो क्षमतालाई आधुनिक प्रविधि, संस्थागत सुधार र दीर्घकालीन राष्ट्रिय सुरक्षा रणनीतिसँग जोड्दै अघि बढ्नुपर्छ ।

नेपाली सेनाको उपलब्धि कुनै एउटा संस्था वा व्यक्तिको मात्र गौरव होइन, देशकै प्रतिष्ठासँग जोडिएको विषय हो । त्यसैले यसको सफलताको सम्मान गरौँ, कमजोरीको इमानदार समीक्षा गरौँ र सुधारका लागि साझा प्रतिबद्धता व्यक्त गरौँ । यही बाटोबाट मात्र हामी अझ सक्षम, आधुनिक, उत्तरदायी र विश्वसनीय नेपाली सेना निर्माण गर्न सक्छौँ ।

लेखक जी.सी. नेपाली सेनाका अवकाशप्राप्त उपरथी हुन् ।