संघीयताको ढाँचामा पृतना बनाएको नेपाली सेनाले संरचना परिवर्तन गर्‍यो


काठमाडौं– प्रदेशहरुको राजधानी र नाममा विवाद भइरहेको बेला नेपाली सेनाले पनि आफ्नो संरचना परिवर्तन गरेको छ । देश संघीयतामा गएसँगै सेनाले प्रदेशहरुकै ढांचामा आफ्नो संरचना निर्माण गरेको थियो ।

नेपाली सेनाले संघीय संरचना लागु भएसंगै देशभर ८ वटा पृतना बनाएको थियो । तर, अहिले फेरी सेना पुरानै संरचनामा फर्केको छ । यसअघि सेनामा पृतनाको संख्या सात थियो । सेनाले २ नम्बर प्रदेशलाई ध्यान दिएर धनुषामा मुख्यालय रहने गरी मध्यपुर्वी पृतना बनाएको थियो ।

‘संघीय संरचना लागु भएपछि हामिले पनि त्यहिअनुसार संगठनमा पुर्नसंरचना गरेका थियौं, तर अहिले केही व्यवहारिक कठिनाई भएर हामीले संगठनको संरचनामा परिवर्तन गरेका छौं,’ सेनाका एक उपरथीले काठमाडौंपाटीसंग भने ।

उनकाअनुसार सेनाले व्यवहारिक र रणनैतिक हिसावले पृतनाहरुको निर्माण गरेको हो । सेनामा यसअघि पांच विकास क्षेत्रको संरचनाअनुसार पृतना कार्यालयहरु रहेका थिए । तर, देश संघियतामा गएसंगै पृतनाको संख्या थप हुनुको साथै प्रदेश संरचनालाई मध्यनजर गर्दै पृतनाहरुको सिमा निर्धारण भएको थियो ।

हाल सेनाको इटहरीमा पुर्वी, धनुषामा मध्यपुर्वी, हेटौंडामा मध्य, काठमाडौंमा उपत्यका, पोखरामा पश्चिम, बुटवलमा उत्तरपश्चिम ,सुर्खेतमा मध्यपश्चिम र दिपायलमा सुदुरपश्चिम पृतना रहेको छ ।

सेनाको मध्य पृतनाले यसअघि सिन्धुपाल्चोक र काभ्रे हेर्दै आएको थियो । तर, परिवर्तित संरचनाअनुसार अब दुवै जिल्ला धनुषामा रहेको मध्यपुर्वी पृतनाले हेर्ने भएको छ । पश्चिम तराईका बांके र बर्दिया जिल्ला यसअघि वुटवलमा रहेको उत्तरपश्चिम पृतनाले हेर्ने गरेकोमा अव सुर्खेतमा रहेको मध्यपश्चिम पृतनाले हेर्ने गरी टुंगो लागेको छ ।

त्यसैगरी हेटौंडाको सुपारीटारमा भएको मध्यपृतनाले बारा र पर्सा हेर्ने जिम्मेवारी पाएको छ । यसअघि दुवै जिल्ला मध्यपुर्वी पृतनाले हेर्ने गरेको थियो । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै जनाले प्रदेशको सिमा र राजधानी फेर्ने संकेत गरिरहेका बेला सेनाले पनि संरचना फेर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रचण्डले प्रदेश ३ का नेकपाका नेताहरुसंगको भेटमा प्रदेश २ का बारा र रौतहटलाई प्रदेश ३ मा र प्रदेश ३ का दोलखा,रामेछाप र सिन्धुलीलाई प्रदेश २ मा गाभ्ने संकेत गरेका छन् । उनले प्रदेश ५ का बांके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउने प्रस्ताव समेत गरेको बताइन्छ । यसो गर्दा प्रदेश ५ बाहेक सबै प्रदेशको सिमा उत्तर दक्षिण जोडिनेछ । सेनाले पनि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको योजनासंग मिल्ने गरी संरचना निर्माण गर्नु संयोग मात्र नभएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement