सहायक रथी पाण्डेद्वारा डिसिओपि कार्यक्रमको शुभारम्भ


काठमाडौं – जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक सहायक रथी बिज्ञान देव पाण्डेले रक्षा मन्त्रालयका कर्मचारीहरुलाई समावेश गरी संचालन भएको डिफेन्स कोरेस्पोन्डेन्ट ओरियन्टेसन प्रोग्राम (डिसिओपि) कार्यक्रमको शुभारम्भ गरेका छन् ।

कार्यक्रमको शुभारम्भ गर्दै सहायक रथी पाण्डेले नेपाली सेनाको कार्य प्रकृती तथा भूमिका सम्बन्धमा रक्षा मन्त्रालयमा कार्यरत निजामती कर्मचारीहरुलाई जानकारी गराएका थिए ।

उनले नेपाली सेना र रक्षा मन्त्रालयबीचको आपसी सहकार्य तथा सम्बन्ध विस्तार गर्ने कार्यलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले नेपाली सेनाले प्रथम पटक यस प्रकारको अभिमुखिकरण कार्यक्रम संचालनमा ल्याएको बताए ।

सम्बोधनकै क्रममा उनले नेपाली सेनालाई प्राप्त जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नका लागी प्राप्त सहयोग, सद्‍भाव तथा समन्वयको लागि सेनाको तर्फबाट रक्षा मन्त्रालयलाई धन्यवाद व्यक्त गरेका थिए ।

रक्षा मन्त्रालयमा कार्यरत नायब सुब्बादेखि उपसचिवसम्मका २० जना कर्मचारीहरु सहभागी भएको उक्त पाँच दिने कार्यक्रममा नेपाली सेनाका विभिन्न कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालयहरुको काम, कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रियासहितको जानकारीमूलक कार्यक्रम सञ्‍चालन गरिनेछ ।

यस प्रकारको कार्यक्रमले मन्त्रालयका नवनियुक्त कर्मचारीहरु नेपाली सेनाको सांगठनिक बनावट, सैनिक गतिविधि र जिम्मेवारीहरु बारे थप जानकार भई रक्षा मन्त्रालय र नेपाली सेनाबीचको आपसी सम्बन्ध विस्तार गर्ने कार्यमा थप सहज र प्रभावकारी हुने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement