आइसोलेसन वार्ड बनाउने तयारी गर्दै नेपाली सेना, कङ्गोमा रहेका सेना कोरोनाबाट सुरक्षित


काठमाडौं – सरकारले नेपाली सेनालाई कोरोना भाइरसको उपचार संक्रमणका लागि उपचार गर्ने ठाँउ आइसोलेसन वार्ड बनाउने जिम्मा दिने भएको छ । सरकारले चीनको हुबेई प्रान्तका ६ वटा शहरबाट ल्याइएका नेपाली राख्न अलग्गै राख्न सुरक्षित स्थानको खोजी थालेको हो ।

स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेनाले ठाउँ खोजिरहेको छ । सेनालाई कम्तिमा पनि ५० बेडसम्मको आइसोलेसन वार्ड बनाउन जिम्मा दिने नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए । स्वदेश फर्काइएका नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ ।

‘यस विषयमा स्वास्थ्य मन्त्रालयले बैठकहरु राखिरहेको छ । नेपाली सेनाले पनि बैठकमा उपस्थिति जनाइरहेको छ । नेपाली सेनासँग कहाँकहाँ राख्न सकिन्छ ठाउँहरु खोज्नु भनिएको छ’, उनले काठमाडौंपाटीसँग भने, ‘हामीले सम्भावित ठाउँहरु पहिचान गर्ने काम गरिरहेका छौं । ठाउँ यही नै भनेर निक्र्याेल भइसकेको छैन् ।’

प्रवक्ता पाण्डेले सरकारले आइसोलेसन वार्डका लागि भक्तपुरको सुकुम्बासी बस्तीमा राख्न सकिने सुझाव दिएको बताए । उनले ४०÷५० जना बिरामी राख्न आवश्यक पूर्वाधार चाँहिने भएकाले अध्ययन गरेर मात्र निष्कर्षमा पुग्न सकिने बताए ।

‘उहाँहरुले चाँही एक दुईवटा ठाउँहरुको कुरा निकालिरहनु भएको थियो । त्यसका लागि भक्तपुरमा सरकारले सुकुम्बासीका लागि निर्माण गरेको घरहरुमा राख्ने कि भन्ने प्रस्ताव पनि आएको छ तर, हामीले हेरेका छैनौं’, प्रवक्ता पाण्डले भने, ‘हामीलाई आइसोलेसन वार्ड मात्र भएर भएन । त्यसमा हुनुपर्ने वेसिक कुराहरु त चाहिन्छ नि ! त्यो छ छैना हामी अध्ययन गरेर मात्र त्यसलाई फाइनल गर्छौं । ४०/५० जना बिरामीको लागि के–के कुराहरु आवश्यक पर्छ भन्ने कुरा डिजिएसहरुले वर्क आउट गरिरहेका छन् । कति बेडको जिम्मा दिने भन्ने छैन् त्यही ४०/५० सम्म हुन्छ होला ।’

त्यस्तै उनले शान्ति सेनामा गएका नेपाली सेनामा कोरोना भाइरसको संक्रमण नभएको जानकारी दिए । प्रवक्ता पाण्डेले ०७१ सालको इबोला भाइरसको स्म्झना गर्दै भने, ‘एयरपोर्टमा हामीले शान्तिसेनाबाट आएका टोलीहरु मध्येमा इबोलाको संक्रमण छ कि भनेर ०७१ आश्विन २९ गते र कात्तिक १२ गते लाइबेरियाबाट आएको सेनाको टोलीलाई आइसोलेसन वार्डमा राख्नका लागि हामीले टोखामा लगेर रोखका थियौं । त्यतिबेला उनीहरुलाई २१ दिन राखेका थियौं ।’

उनले कङ्गोमा रहेको नेपाली सेनाको टोलीमाथि कुनै खतरा नरहेको बताए । प्रवक्ता पाण्डेले शान्ति सेनाबाट आएका सेनाहरुलाई एयरपोर्टमा हेल्थ डेस्क स्थापना गर्ने तयारीमा रहेको जानकारी दिए ।

‘हामी बसेको ठाउँ कङ्गोमा कोरोनाको संक्रमण देखिएको छैन् । तर, त्यसमा हामी सतर्क छौं । शान्ति सेनाबाट आएका सेनाहरुलाई एयरपोर्टमा हेल्थ डेस्क स्थापना गर्ने तयारीमा छौं । त्यो काम सकिएको छैन् । अब छिट्टै सञ्चालनमा ल्याउँछौं ।’

चीनको हुवान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभरी नै फैलिएको छ । चीनमा मात्र कोरोनाबाट मृत्यु हुनेको संख्यामा तीन सय भन्दा बढी रहेको छ भने १४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement