कोरोनाविरूद्ध सेनाले आकाशबाट औषधि छर्किँदैनः नेपाली सेना


काठमाडौं – ‘कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’ भन्ने सामाजिक सञ्जालमा फैलाइएको हल्लामा सत्यता नरहेको नेपाली सेनाले जनाएको छ । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन् ।

सेनाले काठमाडौंको आकाशमा हेलिकप्टरबाट कोरोनाको औषधि छर्किंदैछ भनेर युवतीको आवाजमा रहेको अडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

आकाशबाट औषधि छर्किएर कोरोना भाइरस नियन्त्रण हुने कुनै विधि पत्ता नलागेको अवस्थामा अडियोमा भनिएको जस्तो गतिविधि नहुने सेनाले स्पष्ट पारेको छ ।

‘आज राति १२ बजेपछि सैन्य हेलिकप्टरले कोरोनाविरूद्ध औषधि आकाशबाट छर्कने’ भनी सामाजिक सञ्जालमा अपवाह फैलाइएको थियो ।

सेनाले हालको संवेदनशिल घडीमा यस प्रकारको भ्रामक, झुटो तथा मनगढन्ते समाचारमा विश्वास नगर्न विज्ञप्तिमार्फत जनाएको छ । कोरोना भाईरस (कोभिड–१९) प्रतिकार्यमा नेपाली सेनाको गतिविधि सम्बन्धमा आम जनमानसमा कुनै दुविधा भएमा नेपाली सेनाको श्री जनसम्पर्क तथा सूचना निर्देशनालयको सम्पर्क नम्बर ९८५१०८३२८८ र ९८५१०७९९१७ मा सम्पर्क गर्न सेनाले आग्रह गरेको छ ।

सेनाले कोरोना भाईरस (कोभिड–१९’ विरुद्ध आवश्यक आन्तरिक तयारी गरी संक्रमणबाट सुरक्षित रहँदै रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने र उक्त भाईरसको उच्च जोखिम विरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरु अवलम्बन गर्न सधैं प्रतिवद्ध रहेको बताएको छ ।

यस्ता हल्लाको पछि नलाग्न समेत सेनाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement