विस्फोटक पदार्थको उत्पादनमा नेपाली सेना आक्रामक


काठमाडौं – नेपाली सेनाले विस्फोटक पदार्थको उत्पादन स्वदेशमै आक्रामक रुपमा बृद्धि गर्ने योजना कार्यान्वयनमा लगेको छ ।

योजना कार्यान्वयनको अन्तिम चरणमा रहेकाले आगामी फागुनदेखि उत्पादन शुरू गरिने छ । सेनाले उत्पादन गरेको विस्फोटक पदार्थ विभिन्न विकास निर्माण योजनामा प्रयोग हुँदै आएको छ ।

विकास निर्माण योजनामा विस्फोटक पदार्थको माग बढेपछि सेनाले उत्पादन बढाउने योजना बनाएको थियो । नेपाली सेनाका प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले माग बढेपछि उत्पादन क्षमता वार्षिक १२ सय मेट्रिक टनबाट ३ हजार ६ सय मेट्रिक टन पुर्याउन प्रक्रिया थालिएको बताए ।

‘हालको उत्पादन क्षमता वार्षिक १२ सय मेट्रिक टन छ तर मागअनुसार उत्पादन गर्न नसकिएपनि दुई महिनाभित्रै ३ हजार ६ सय मेट्रिक टन विस्फोटक पदार्थ उत्पादन शुरू हुन्छ,’ प्रवक्ता ढकालले भने । क्षमता बृद्धिका लागि आवश्यक उपकरण आइसकेको र जडानको काम भइरहेको उनले बताए । ‘फागुन अन्तिमसम्म परीक्षण उत्पादन शुरू हुनेछ,’ उनले भने ।

सेनाले विकास निर्माणका काममा प्रयोग गर्न विस्फोटक पदार्थको उत्पादन गर्दै आएको छ । हाल सेनाले मकवानपुरको सुनाचुरीमा रहेको इमल्सन प्लान्टमार्फत् विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ ।

सेना आफैं विकास निर्माणका काममा संलग्न हुने र विभिन्न कन्सट्रक्सन कम्पनीमार्फत् माग बढ्न थालेपछि सेनाले वार्षिक १२ सय मेट्रिक टन उत्पादन क्षमता रहेको विस्फोटक पदार्थलाई ३ हजार ६ सय मेट्रिक टन पुर्याउन लागेको हो । 

सेनाले उत्पादन गर्दै आएको विस्फोटक पदार्थ हाइड्रोपावरको टनेल र सडकको टनेल निर्माणसहित पहाडी क्षेत्रका सडकको ट्र्याक खोल्न प्रयोग हुँदै आएको छ । सेनाले विस्फोटक पदार्थमार्फत् ढुंगा फोर्ने काम गरिरहेको छ ।

हाल अरुण तेस्रो जलविद्युत् आयोजनासहितका विभिन्न आयोजनामा सेनाले विस्फोटक पदार्थ पठाउँदै आएको छ । कर्णाली कोरिडोर, मेलम्ची, काठमाडौं–तराई मधेस द्रूतमार्गमा समेत विस्फोटक पदार्थ प्रयोग हुँदै आएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा समेत सेनाले नै उत्पादन गरेको विस्फोटक पदार्थ प्रयोग गरिएको थियो ।

सेनाबाट निजी क्षेत्रले विस्फोटक पदार्थ खरिद गर्दा विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ । सम्बन्धित जिल्लामा बनेको कमिटीबाट स्वीकृति लिएर गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेनाको जंगी अड्डा हुँदै उत्पादन प्लान्टसम्म स्वीकृति आएपछि विष्फोटक पदार्थ पठाउने गरिएको छ ।

सेनाले २०५९ सालमा प्लान्टको स्थापना गरेको थियो भने २०६० सालदेखि उत्पादन शुरू गरेको थियो । प्लान्टमा हाल ३० जना इन्जिनियर कार्यरत रहेका छन् । सेनाले विस्फोटक पदार्थको उत्पादन बढाएपछि जटिल खालका विकास निर्माण कार्यले गति लिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement