सेनाले बर्दिवासमा निर्माण गर्यो फिल्ड अस्पताल,गैर सैनिकलाई समेत सेवा उपलब्ध गराउने योजना


काठमाण्डु –  नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले महोत्तरीको बर्दिवासमा निर्माण भएको फिल्ड अस्पताल र सैनिक आवासीय महाविद्यालयको समुदघाटन तथा निरीक्षण गरेका छन् ।

प्रधानसेनापति थापाले मध्य पूर्वी पृतना हेडक्वार्टरको संयोजन तथा सैनिक कल्याणकारी कोषको लगानीमा बर्दिबास सैनिक शिविरभित्र निर्माण भएको २५ शैयाको फिल्ड अस्पताल तथा सैनिक आवासीय महाविद्यालयको बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी समेत लिएका थिए ।

नेपाली सेनाको बहालवाला तथा अवकाश प्राप्त सैनिक र आश्रित परिवारहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ निर्माण भएको उक्त फिल्ड अस्पतालबाट डेण्टल प्रोसिजर, ओपिडी सर्भिस, वेशिक ल्याब सर्भिस, एक्स रे सेवा, एक्सिडेण्ट तथा ईमर्जेन्सी सेवा, इण्डोरसर्भिस (१७ वेड) र फार्मेसी सेवाहरु सूचारु हुने छन् ।

त्यसैगरी सैनिक आवासीय महाविद्यालय, बर्दिबासमा जनमैत्री शैक्षिक कार्यक्रम अन्तर्गत नं. २ प्रदेश अन्तर्गतका ८ वटा जिल्लाहरुबाट २÷२ जनाको दरले दलित, जनजाति, विपन्न, पिछडा एवं टुहुरा बालबालिकालाई समेत पूर्ण छात्रवृत्ति सहित समावेश गरी यसै शैक्षिक सत्रबाट (२०७८ असार महिना) कक्षा ६ संचालन हुने र प्रत्येक बर्ष क्रमशः कक्षाहरु थप गर्दै लैजाने योजना रहेको सेनाले जनाएको छ ।

देशमा भयावह रुपमा फैलिदै गरेको कोभिड–१९ संक्रमणको कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न भएको असहज परिस्थितिलाई मध्य नजर गरी उक्त नवनिर्मित फिल्ड अस्पतालमा बेडको उपलब्धताको आधारमा गैर सैनिक बिरामीहरुलाई समेत सेवा उपलब्ध गराउने योजना रहेको सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement