नेपाली सेनाले खुला तथा सामजिक लेखरचना प्रतियोगिता आयोजना गर्दै


काठमाडौं – राष्ट्रिय तथा सामजिक विषयमा खोज, अनुसन्धान र अध्ययनको दायरा फराकिलो पार्ने उद्देश्य राख्दै नेपाली सेनाले यस वर्षबाट खुला तथा सामजिक लेख र रचना प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिताका लागि राष्ट्रिय सुरक्षा र विकास, राष्ट्रियता र राष्ट्रिय एकता, नेपालको सामरिक महत्व, नागरिक–सैनिक सम्बन्ध र सैनिक कूटनीति शीर्षक तोकिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतियोगितामा भाग लिन चाहने लेखकले असोज १ देखि ३० गतेसम्म लेख र रचनाको शीर्षक बुझाउनुपर्ने सेनाले जनाएको छ । स्वीकृत भएको शीर्षकको दायरामा रहेर मङ्सिर १ देखि माघ १५ गतेसम्म सैनिक मुख्यालयमा आइपुग्ने गरी लेख रचना पेश गर्नुपर्नेछ ।

लेख र रचना दुई हजारदेखि दुई हजार ५०० शब्दको हुनुपर्नेछ । सेनाले प्रतियोगितामा उत्कृष्ट लेखलाई समेटेर ‘एकता जर्नल’ मा प्रकाशन गर्नेछ । प्रतियोगितामा छनौट भएका ३० लेखलाई पुरस्कृत गरिने सेनाले जनाएको छ । पहिलो लेखले २ लाख पुरस्कार पाउने छ भने दोस्रो हुनेले एक लाख र तेस्रोलाई ५० हजार प्रदान गरिने सेनाले जनाएको छ । त्यस्तै सान्त्वना पुरस्कार प्राप्त गर्ने २७ जनालाई जनही १० हजार प्रदान गरिने सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement