सिरियाको २० फिटको हिउँमा के गर्दैछ नेपाली शान्ति सैनिक ?


काठमाण्डु – संयुक्त राष्ट्र संघको संयुक्त राष्ट्र विच्छेदन पर्यवेक्षक बल अन्तर्गत रहेर नेपाली शान्ति सैनिकहरुले मध्यपुर्वी राष्ट्र सिरियाको अति संवेदनशिल माउण्ट हर्मनको २० फिटको हिउँ र माईनस २० डिग्री सेन्टिग्रेडको चिसो कठ्याङ्ग्रिदो सिरेटोमा पनि आफ्नो जिम्मेवारी डटेर कुशलतापूर्वक निर्वाह गर्दै आईरहेका छन ।

यस क्षेत्रको स्वामित्वको बिषयलाई लिएर विगत ४६ बर्षदेखि सिरिया र इजरायलबीच विवाद कायम रहेकोले यहाँ शान्ति सैनिकहरु तैनाथ गरिएका छन । विश्वको सबैभन्दा अग्लो स्थानमा शान्ति सैनिक तैनाथ भएको उक्त क्षेत्रमा अहिले पनि ठुलो संख्यामा बिद्युतिय धरापहरु छन् भने द्वन्द्वरत सशस्त्र समुहहरुको चलखेल पनि बढी नै हुने गर्दछ ।

करिव ६ महिना हिमपात हुने उक्त गोलान क्षेत्रमा खट्टिने अधिकांश फौजहरु मुस्ताङ्ग जिल्लाको कैसाङ्ग स्थित उच्च शिखर तालिम शिक्षालयबाट हिमाली युद्धकला सम्बन्धी तालिम प्राप्त गरी हिमपात र विकट भुगोलमा काम गर्न दक्षता प्राप्त गरेका हुन्छन् । सन् २०१३ देखि नेपाली शान्ति सैनिकहरु तैनाथ रहेको उक्त ईलाकामा हिंउमा प्रयोग गरिने विशेष किसिमको सवारी साधनहरु पिस्टन बुली, स्किडो र स्कीको प्रयोग गरी सैनिक कारवाहीहरु संचालन गरिँदै आएको सेनाले जनाएको छ ।

नेपाली शान्ति सैनिकहरुले विश्वका द्धन्द्धग्रस्त राष्ट्रहरुमा तैनाथ भई देखाएको बहादुरी, पेशागत दक्षता र सफल सैनिक कारवाहीको परिणाम स्वरुप सिरिया स्थित युएनडीएफ मिशनको फोर्स कमाण्डर जस्तो उच्च ओहोदाको नियुक्तिमा नेपाली सेनाको तर्फबाट प्रधान सेनापति पूर्णचन्द्र थापा, अवकाश प्राप्त रथी बालानन्द शर्मा र अवकाश प्राप्त उपरथी शिवराम खरेल नियुक्ति भई आफ्नो कार्यभार पुरा गरिसकेका छन् भने हाल रथी ईश्वर हमाल सोही हैसियतमा कार्यरत छन् ।

नेपाली शान्ति सैनिकको सबैभन्दा ठुलो उपस्थिती रहेको उक्त मिशनमा नेपाली सेनाको डाक्टर अधिकृत सहितको मेडिकल टिम र आन्तरिक द्धन्द्धको कारण बिद्रोहीहरुबाट क्षति पुर्‍याईएका शान्ति सैनिकहरुको व्यारेक संरचनाहरु पुनःनिर्माण र व्यारेक स्थानहरुको सुरक्षा मजवुत बनाउन नेपाली सेनाको ईन्जिनियर टिम पनि कार्यरत छ । नेपाली सेनाको कार्यक्षमता, पेशागत दक्षता र विश्वसनियताको कारण मिशनमा नेपाली शान्ति सैनिकहरुको संयुक्त राष्ट्र संघ तथा सिरियाली सरकारको तर्फबाट प्रशंसा हुंदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement