४३ हजार ६३२ जनाले लिए सेनाको सिनियर डिभिजन तालिम


काठमाडौं–रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको राष्ट्रिय सेवा दलले प्रदान गरेको सिनियर डिभिजन तालिमको निरीक्षण गरेका छन््।
उनले ललितपुरमा आयोजित राष्ट्रिय सेवा दलको १४औँ सिनियर डिभिजन तालीम दीक्षान्त कवाज कार्यक्रममा युवा पुस्ताले राष्ट्रवादी भावनालाई उच्च महत्व दिएर काम गर्न सुझाव दिए।

मन्त्री पोखरेलले युवापुस्ता देशभक्तिको भावना र स्वाभिमानी विचारबाट अभिप्रेरित हुन आवश्यक रहेको बताए। उनले तालिममा सहभागीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुका साथै शिल्ड तथा पुरस्कार पनि प्रदान गरे।

नेतृत्व तथा व्यक्तित्व विकास, सामान्य सैनिक कला, विपद् व्यवस्थापन र विपत्तिका समयमा स्वयमसेवकको रुपमा भूमिका निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले नेपाली सेनाले देशभरिका विभिन्न निजी तथा सरकारी विद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरुलाई तालिम प्रदान गर्दै आएको छ ।

राष्ट्रिय सेवा दलले युवा पुस्तालाई अनुशासित, मर्यादित, संस्कारयुक्त, राज्यका संस्थाप्रति सम्मान र समर्पित हुँदै राष्ट्रियताप्रति बफादार भई नेतृत्व व्यक्तित्व विकासमा योगदान पु¥याउने उद्देश्यले २०२२ बाट यस प्रकारको तालीम सञ्चालन गर्दै आएको छ ।

हालसम्म ४३ हजार ६३२ जना क्याडेट छात्रछात्राले सफलतापूर्वक उक्त तालीम लिइसकेको सो अवसरमा जानकारी दिइयो । सेवा दलले यो आवमा २१६ विद्यालयका सात हजार ७०० छात्रछात्रालाई तालीममा सहभागी गराएको थियो ।

सेवा दलका अनुसार तीमध्ये सिनियर डिभिजनतर्फ एक हजार ८० र जुनियर डिभिजनतर्फ ६ हजार ६२० जना छन् । तीमध्ये आइतबार ५१४ छात्रछात्रा दीक्षित भएका हुन् । समारोहमा सेवा दलका सहसंरक्षक एवं प्रधानसेनापति पूर्णचन्द्र थापा र रक्षा सचिव विष्णुप्रसाद लम्सालले समेत तालीमका प्रशिक्षार्थीलाई दज्र्यानी चिह्न प्रदान गरे।

राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक रमीन्द्र क्षत्रीले सङ्गठनको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै युवा पुस्तामा देशभक्तिको भावना जागृत तुल्याउन तालीम निकै फलदायी भएको बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement