रक्षामन्त्री र बंगलादेशकी राजदूतबीच भेटवार्ता, दुवै देशका सेनाको प्रशंशा


काठमाण्डु – उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सबीच भेटवार्ता भएको छ ।

नेपालमा आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लागेकी राजदूत मास्फीले शुक्रबार मन्त्री पोखरेलको कार्यकक्ष सिंहदरबारमा पुगेर समयसामयिक विषयमा कुराकानी गरेकी हुन् ।

भेटका क्रममा मन्त्री पोखरेलले नेपाल र बंगलादेशबीच विगत पाँच दशकदेखि घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध रहेको कुरा चर्चा गर्दै यो सम्बन्ध सरकार–सरकारबीचमा मात्र सीमित नभएर जनस्तरमा समेत प्रगाढ रहेको विचार व्यक्त गरेका थिए ।

उपप्रधानमन्त्री पोखरेलले नेपालमा ७ वर्ष लामो कार्यकाल बिताएर स्वदेश फर्कन लागेकी राजदूतले आफ्नो नेपाल बसाइको अवधिमा नेपाल र बंगलादेशबीचको सम्बन्धलाई थप सुदृढ तुल्याउन महत्त्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै उनलाई स्वदेश फर्किएपछि पनि दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने दिशामा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

उनले नेपाल र बंगलादेश दुवै साना मुलुक भएको र दुवै मुलुक विभिन्न प्रकारका प्राकृतिक विपत्तिबाट प्रभावित भइरहने साझा समस्याबाट गुज्रिरहेको सन्दर्भमा दुवै मुलुकबीच विभिन्न क्षेत्रमा सहकार्य गर्दै अघि बढ्न आवश्यक भएको बताए । नेपालमा वि.सं. २०७२ सालको विनाशकारी भूकम्प पश्चात् पीडितहरूलाई राहत उपलब्ध गराउन बंगलादेश सरकारले उपलब्ध गराएको सहयोगका लागि मन्त्री पोखरेलले धन्यवाद दिएका थिए ।

मन्त्री पोखरेलले नेपाल र बंगलादेशका सेनाहरूबीच एक आपसमा सौहार्द्रपूर्ण सम्बन्ध रहँदै आएको र दुवै मुलुकका सेनाबीच समय–समयमा हुने संयुक्त अभ्यास¸तालिम तथा प्रशिक्षणका साथै दुवै देशका उच्च सैनिक पदाधिकारीहरूबाट एक अर्का देशमा भइरहने भ्रमणले यो सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुगेको बताए ।

नेपाल र बंगलादेशका सेनाले संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वमा शान्ति स्थापना गर्ने कार्यमा अग्रणी भूमिका निर्वाह गरिरहेको चर्चा गर्दै उनले यो दुवै देशका लागि गौरवपूर्ण भएको बताए ।

राजदूत साम्सले आफ्नो नेपाल बसाइको अवधिमा नेपाल र बंगलादेशबीच व्यापार¸पर्यटन, जलस्रोत र लगानी प्रवर्द्धन लगायतका द्विपक्षीय हित हुने थुप्रै विषयमा महत्त्वपूर्ण कार्यहरू गरी दुई देशबीचको सम्बन्धलाई थप घनिष्ठ र सुदृढ बनाउन सक्दो प्रयास गरेको बताइन् । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई समयको गतिसँगै निरन्तरता दिनतथा आपसी हितर सहयोगका नयाँ क्षेत्रहरू पहिल्याउँदैअघि बढ्न आवश्यक रहेको उनले जोड दिइन् । उनले आफ्नो कार्यकालमा बंगलादेशका राष्ट्रपतिलगायत अन्य उच्च पदाधिकारीहरूबाट नेपालको औपचारिक भ्रमण भई बंगलादेश र नेपालबीचको सम्बन्धलाईथप उचाइमा पु¥याउन उल्लेखनीय कार्य भएको बताएकी थिइन् ।

बंगलादेश र नेपाल दक्षिण एशियाका दुई विकासोन्मुख मुलुकका रूपमा रहेको चर्चा गर्दै उहाँले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा दुई देशको साझा धारणा रहँदै आएको विचारव्यक्त गरिन । दुई देशका सेनाबीच समेत असल र मैत्रीपूर्ण सम्बन्ध रहेको कुरा उल्लेख गर्दै राजदूत साम्सले संयुक्त सैनिक अभ्यास, तालिम तथा उच्चस्तरीय भ्रमण मार्फत दुई देशको सेनाबीचको सम्बन्धलाई थप सुदृढबनाउन महत्त्वपूर्ण योगदान पुगिरहेको बताइन् ।

उनले विगत दश वर्षमा बंगलादेशले आर्थिक सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको कुरा राख्दै नेपाल र बंगलादेशीबीच आगामी दिनमा पारस्परिक सहयोगको क्षेत्रलाई थप फराकिलो पार्दै जानबंगलादेशप्रतिबद्ध रहेको बताइन् । भेटमा रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement