अन्जन विष्टको ह्याट्रिकमा नेपालको शानदार जित


काठमाण्डु – नेपाल बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा विजयी भएको छ । नेपाल ३-१ ले विजयी भएको हो । नेपालको जितमा अन्जन विष्ट नायक बने । उनको ह्याट्रिकमा नेपालले सहज जित निकालेको हो । अन्जन मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । बंगलादेशका सजाद होसेनले एक गोल फर्काए ।

सुरुआतमा बंगलादेश आक्रामक देखिएको थियो । सातौं मिनेटमा गोलकिपर किरण चेम्जोङ अघि बढेको अवस्थामा सुमन अर्यालले हेडरबाट क्लियर गर्न खोजेको बल आफ्नै पोस्टतर्फ गएको थियो । तर, गोललाइन नजिकै रहेका रोहित चन्दले बल क्लियर गर्दै गोल हुनुबाट जोगाए । खेलको १७ औं मिनेटमा पेनाल्टी बक्सको नजिकबाट बंगलादेशका कप्तान जमल भुयानको उत्कृष्ट फ्रिकिक क्रसबारमा लाग्दै बाहिरिएको थियो ।

२७ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । विमलले उपलब्ध गराएको बलमा तेज तामाङले प्रहार गरेको बल बंगलादेशका गोलकिपर अनिसुर रहमानले पन्च गर्दै बाहिर फाले । त्यहिँ रिबाउन्ड बलमा अन्जनले उत्कृष्ट फिनिस गर्दै पोस्टको जाली चुमाए ।

३८ औं मिनेटमा अन्जनले ह्याट्रिक पूरा गर्दै नेपाललाई ३-० को अग्रता दिलाए । नुतुनले विमललाई फउल गरेपछि नेपालले फ्रिकिकको अवसर पाएको थियो । जसमा विशाल राईको फ्रिकिकमा अन्जनले हेडमार्फत उत्कृष्ट गोल गरे । यससँगै अन्जन नेपालका लागि अन्तराष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने छैटौं खेलाडी बनेका छन् ।।

प्रतिक्रिया दिनुहोस
Advertisement