काठमाण्डु-नेपालको विद्युत् व्यापारको इतिहासमा आज पहिलो पटक भारतपछि अर्को देश बिजुली निर्यात हुन लागेको छ ।
नेपाल विद्युत् प्राधिकरणले आज ४० मेगावाट बिजुली पहिलो पटक बंगलादेश निर्यात गर्न लागेको छ । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार आज क्षेत्रीय विद्युत् व्यापारमा ऐतिहासिक कोशेढुङ्गा कायम हुन लागेको हो ।
भारतको केन्द्रीय विद्युत् नियमन आयोगले नेपालको बिजुली बङ्गलादेश निर्यात गर्न अनुमति दिएपछि आज मध्यान्न प्राधिकरणले बंगलादेश विद्युत् निर्यात गर्दैछ ।
विद्युत् व्यापार गर्ने विषयमा गत असोज १७ गते नेपाल, भारत र बंगलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौताअनुसार हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म नेपालले विद्युत् बंगलादेश निर्यात गर्नेछ ।
प्राधिकरणले ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय लाइनमार्फत भारतीय प्रणालीमा बिजुली उपलब्ध गराउनेछ । सो बिजुली भारतीय नोडल एजेन्सी एनभिभीएनले आफ्नो प्रसारण प्रणालीमार्फत बंगलादेश पठाउनेछ ।
सहमतिअनुसार मुजफ्फपुरबाट भारतीय प्रसारण प्रणाली हुँदै बहरामपुु-भेरमारा चार सय केभी प्रसारण लाइन हुँदै नेपाली बिजुली बंगलादेश पुग्नेछ । प्राधिकरणले प्रतियुनिट आठ रुपैयाँ ६४ पैसामा बिजुली निर्यात गर्न लागेको जनाएको छ ।
प्रवक्ता घोषका अनुसार प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेश पठाउनेछ ।
बंगलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ । सरकारले सन् २०३५ सम्म तय गरेको कार्ययोजनामा २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतमा प्रयोग गर्ने र १५ हजार मेगावाट भारत र बंगलादेश निर्यात गर्ने रणनीतिक लक्ष्य निर्धारण गरिएको छ ।
प्रतिक्रिया