यी हुन् बेलायतमा नर्स लगायत स्वास्थ्यकर्मी लैजान गरिएको सम्झौताका ८ बुँदा


काठमाण्डु – बेलायतमा नेपाली नर्स लैजानका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोमबार श्रम तथा रोजगार मन्त्रालयमा नेपालबाट रोजगारका लागि नर्सलगायत स्वास्थ्य क्षेत्रका जनशक्ति बेलायत लैजाने विषयमा दुई देशबीच सम्झौता भएको हो ।

सम्झौतामा नेपालका तर्फबाट श्रम सचिव एक नारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका छन् । दुई देशबीच भएको सम्झौतापत्रमा विभिन्न ८ वटा बुँदा समेटिएका छन् ।

जसअनुसार नेपाली नर्स तथा स्वास्थ्यकर्मीले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन् । रोजगारीका लागि बेलायत जाने श्रमिकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन । उनीहरुले पाँच वर्षका लागि बेलायतमा काम गर्न पाउनेछन् ।

 यी हुन सम्झौतापत्रमा भएका ८ बुँदा :

१. स्वास्थ्यकर्मीको छनौट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रिया बमोजिम हुने।

२. नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा (एनएचएस.) मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाइने।

३. विश्व स्वास्थ्य संगठनको हेल्थ वर्कर सपोर्ट एण्ड सेफगार्ड लिष्ट २००० मा नेपाल समावेश रहेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यकर्मीको सङ्ख्या र प्रकारका सम्बन्धमा दुबै सरकारले संयुक्त निर्णय गर्ने।

४. नेपालको स्वास्थ्य क्षेत्रको विकास र सुदृढिकरणमा बेलायत सरकारको योगदान रहदै आएकोमा आगामी दिनमा समेत स्वास्थ्य क्षेत्रको निरन्तर सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी हुने।

५. परीक्षणको रुपमा प्रथम चरणमा नेपाली नर्सहरुलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई इम्प्लिमेन्टेसन प्रोटोकल स्पष्ट व्यवस्था गरिने।

६. नियुक्ती प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने एवम् रोजगारीका लागि छनौट भएका स्वास्थ्यकर्मीको लागतको शोधभर्ना हुने।

७. परीक्षण चरणको अन्तमा समग्र स्वास्थ्यकर्मी नियुक्ती प्रक्रियाको मूल्याङ्कन गरिने र थप नियुक्ती तथा विस्तारका सम्बन्धमा आवश्यक निर्णय लिइने ।

८. समझदारी पत्र, नियुक्ती प्रक्रिया र अन्य जानकारी मन्त्रालयको वेवसाइट http://moless.gov.np/np/page/uk-health-careमा उपलव्ध हुने तथा थप जानकारीका लागि [email protected] मा इमेल गर्न सकिने ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement