तस्करी बढ्न थालेपछि नेपाल-भारत सीमामा सुरक्षा जाँच कडा


नवलपरासी – पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण गर्न स्थानीय प्रशासनले नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा चेकजाँच कडा पारेको छ ।

भारतीय बजारबाट अवैधरुपमा बिना भन्सार विभिन्न मालसामान भित्रिने गरेपछि यतिबेला स्थानीय प्रशासनले सशस्त्र प्रहरी, नेपाल प्रहरीसँग समन्वय गरी सीमा क्षेत्रमा कडा गरेको पाइएको हो ।

पछिल्लो पटक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को महेशपुर नाकामा तस्करीमा कडाइ भएको छ । पछिल्लो समय बढ्दै गएको तस्करीलाई रोक्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा गस्ती र चेकजाँच बढाएपछि तस्करी सामान समातिँदै गएको छ ।

सोही क्रममा करीब  पाँच लाख बराबरको अवैध सामान बरामद गरी सशस्त्र प्रहरीले भैरहवा भन्सार कार्यालय पठाउने तयारी गरेको छ । सोमबार बरामद सो मूल्य बराबरकोे फेयर एण्ड लब्ली, मरिच तथा कपडालाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार पठाउने तयारी गरिएको विओपी सशस्त्र प्रहरी बल हरपुरका सशस्त्र प्रहरी निरीक्षक प्रकाश ढकालले बताए ।

बरामद गरिएको सामानमा ५२ हजारको ४३१ पत्ता फेयर लब्ली, एक लाखको दुई बोरा मरिच, एक लाखको ५० रोल थान कपडा,एक लाख ५० हजारको १०२ पिस जयपुरी र १०८ पिस कठाइ साडी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement