नेपाल-भारत सीमा क्षेत्रमा तारबार लगाउन सांसदहरुकाे माग


काठमाडौं – भारतले पटक–पटक नेपालको सीमा अतिक्रमण गरी दुःख दिएको र नेपालको सार्वभौमसत्तामाथि नै प्रश्न खडा हुने गरी गतिविधि गरेको भन्दै सांसदहरुले तत्काल दुई देशबीचको सीमा व्यवस्थापन गर्ने गरी तारबार लगाउन माग गरेका छन् ।

कोरोनाको सङ्क्रमण फैलन नदिन लकडाउन जारी रहेको बेला पछिल्लोपटक नेपालको भूमि अतिक्रमण गरी सडक निर्माण गरेको र नेपालको अस्मितामाथि नै हमला गरेकाले सीमा क्षेत्रमा तत्काल तारबार गर्न उहाँहरुले सरकारको ध्यानाकर्षण गराए । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सीमा अतिक्रमणविरुद्ध सरकारले कूटनीतिक पहल गर्नुपर्ने र आफ्नो भूमि एक इन्च पनि नछाड्ने गरी प्रक्रिया अगाडि बढाउन सांसदले माग गरे ।

केही सांसदले त सीमा क्षेत्रमा तारबार लगाउने निर्णय भएको खण्डमा आफूले पाउने पारिश्रमिक समेत उपलब्ध गराउने प्रतिबद्धता जनाए । भारतले पछिल्लोपटक यही वैशाख २६ गते नेपाली भूमि अतिक्रमण गरी निर्माण भएको धार्चुला हुँदै मानसरोवर जाने सडक उद्घाटन गरेको हो । भारतको उक्त कमदका विरुद्ध नेपाल सरकारले भारत सरकारलाई यहाँस्थित राजदूतमार्फत कूटनीतिक नोटसमेत उपलब्ध गराइसकेको छ ।

भारतले मित्रवतको व्यवहार नगरेको, नेपाली भूमिमाथि नजर लगाएको, अनाधिकृतरूपमा सडक निर्माण गरी दुःख दिएकाले सरकारले कूटनीतिक राजनीतिक दुवै प्रयासका अलावा अन्य पहल गर्नसमेत आग्रह गरे । सांसद अनिता देवकोटाले सीमा क्षेत्रमा भारतले निर्माण गरिरहेको सडकको बारेमा सरकारलाई जानकारी नै थिएन भनेर सरकारी पक्षबाट आएको धारणा गलत रहेको भन्दै तत्काल प्रष्ट्याउन माग गरिन् ।

सांसद इन्दु कडरियाले नेपालीको घर आँगनमा नै भारतीयले आएर दुःख दिएको र सीमा अतिक्रमण गरेर दुःख दिएकाले पूर्वदेखि पश्चिमसम्म सीमा निर्धारण गरी काँडेतार लगाउन माग गरिन् । उनले सीमा व्यवस्थित गर्ने पहल सरकारले गरेको खण्डमा आफूले पाउने एक वर्षको सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाइन् । सांसद उदयाशर्मा पौडेलले नेपालको भूमिमाथि भारतले पटक–पटक अतिक्रमण गरेर दुःख दिएकाले कहिल्यै समस्या नबल्झने गरी निरुपण गर्नुपर्ने धारणा राखिन् ।

सांसद कविता बोगटीले हात्तीको दुई वटा दाँत हुन्छ भनेजस्तै गरेर भारतले मिचाहा प्रवृत्ति देखाएको र हामीले सधैँ सहेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गरिन् । उनले भनिन्, ‘हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने भन्ने मान्यताका साथ काम गर्नुपर्छ ।’

सांसद गङ्गाकुमारी बेलवासेले कालापानी नदी हाम्रो सीमा नदी भए पनि भारतले नक्कली कालीनदी र पोखरी बनाएर नेपाली सीमा मिचेको भन्दै सिमानाको सुरक्षामा कुनै पनि सम्झौता नगर्न सरकारको ध्यानकर्षण गराइन् । सांसद तारादेवी भट्टले भारततर्फ रहेका नेपालीको उचित व्यवस्थापन गर्न र खाडी मुलुकमा रहेका नेपालीसमेत खान नपाएर मर्ने अवस्था आएको भन्दै उनीहरुको तत्काल उद्धार गर्न माग गरिन् ।

सांसद कोमल वलीले पछिल्ला दिनमा कोरोनाको सङ्क्रमण ह्वात्तै बढेकाले तत्काल लकडाउनलाई थप व्यवस्थित गर्न आग्रह गरिन् । उनले भारतको सिमानामा बसेका नेपालीलाई व्यवस्थितरूपमा घर ल्याउने प्रबन्ध गरी उनीहरुलाई क्वारेन्टाइनमा राख्ने प्रबन्ध गर्नुपर्नेमा जोड दिइन् । सांसद वलीले कोरोना सङ्क्रमण फैलिएको स्थानमा समुदाय सिल गरेर कोरोना नियन्त्रणमा लाग्नुपर्ने र अत्यावश्यक सामग्रीको प्रबन्ध गर्न आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement