काठमाण्डु-२० वर्ष मुनीको साफ च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान खेल्दैछन् । खेल दिउँसो ३ बजेदेखि एन्फा कम्प्लेस सातदोबाटोमा शुरु हुने छ । नेपाल समूह ‘ए’ को विजेता र भुटान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।
नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले दोस्रो खेलमा बंगलादेशलाई २–१ ले पराजित गरेको थियो ।
भुटान भने समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । पहिलो खेलमा साविक विजेता भारतसँग १–० ले पराजित भए पनि दोस्रो खेलमा माल्दिभ्सलाई २–१ ले पराजित गरेपछि भुटान पनि भारतसँगै सेमिफाइनल पुगेको हो ।
नेपाल र भुटानबीच साफ यु–२० मा अहिलेसम्म तीनपटक भेट भएको छ । जसमा भुटानले दुई खेल जित्दा नेपालले एक खेल जितेको छ । सन् २०१५ मा भएको पहिलो संस्करणको समूह चरणमा विमल घर्ती मगरको ह्याट्रिकमा नेपालले भुटानलाई ३–१ ले पराजित गरेको थियो । तर, २०१७ मा भुटानमै भएको प्रतियोगितामा नेपाल भुटानसँग १–० ले पराजित भएको थियो ।
तर, राउण्ड रोविनका आधारमा भएको प्रतियोगितामा नेपालले त्यसपछि लगातार तीन खेल जित्दै शीर्ष स्थानमा रहेर च्याम्पियन बनेको थियो ।
सन् २०१९ मा नेपालमै भएको तेस्रो संस्करणमा भने नपाल समूह चरणमै भुटानसँग ३–० ले पराजित भएको थियो । भुटानसँग कुनै पनि नेपाली टिमले व्यहोरेको यो अहिलेसम्मकै ठूलो हार हो ।
दोस्रो सेमिफाइनलमा भोलि भारत र बङ्गलादेश खेल्नेछन् । लगातार वर्षाका कारण दशरथ रङ्गशालाको मैदान हिलो हुँदा सेमिफाइनल खेल पनि सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समै हुने भएको हो । फाइनल खेल बुधवार दशरथ रङ्गशालामा हुनेछ ।
प्रतिक्रिया