युवा रोजगारी सिर्जनाका लागि नेपाल चेम्बर अफ कमर्सले स्थानीय तहसँग सहकार्य गर्ने


काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सले युवा रोजगारी सिर्जना तथा उद्यमशिलता विकासका लागि स्थानीय तहसँग सहकार्य गर्ने भएको छ ।

महोत्तरी चेम्बर अफ कमर्सले बर्दिबासमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष राजेन्द्र मल्लले स्वदेशमै रोजगारी सिर्जना गरेर युवा पलायन हुनबाट रोक्न स्थानीय तहसँग सहकार्ग गर्न लागिएको जानकारी दिएका हुन् ।

युवा उद्यमशिलता तथा आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि प्राकृतिक श्रोतको उच्चतम प्रयोग, विदेशमा सिकेको सिपलाई नेपालमा प्रर्वद्धन गर्न नेपाल चेम्बर अफ कमर्सले सबै स्थानीय तहसंग सहकार्य गर्न चाहेको अध्यक्ष मल्ललको भनाई छ ।

अध्यक्ष मल्लले भने, ‘विदेशबाट फर्किएका युवाहरुको लगत संकलन गरेर उनिहरुको सिपलाई राज्यले प्रोत्साहन गर्न नीतिगत व्यवस्था गर्न आवश्यक छ । सरकाले ५० वर्ष सम्म जग्गा भाडामा उपलव्ध गराउने बजेटमा घोषणा गरेको छ । युवाहरुको सिपलाई एकीकृत गरेर औद्योगिक ग्राम बनाउन सकिन्छ । यसमा अन्तराष्ट्रिय कम्पनीलाई पनि प्रोत्साहन गर्न सकिन्छ र लगानी मार्फत विदेशमा सिकेको ज्ञान तथा सिपलाई उत्पादनसंग जोड्न सकिन्छ ।’

उनले युवा स्वरोजगारी मार्फत आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि मुलुक भित्रका प्राकृतिक श्रोतको उच्चतम सदुपयोग गर्नुपर्नेमा जोड दिए । मल्लले महोत्तरीमा उत्पादित उखु, फलफुल लगायत अन्य उपभोग्य बस्तुको बजारिकरणका लागि जिल्ला चेम्बरले सहकार्य गर्ने समेत बताए ।

मुलुकमा बिचौलिया राजको अन्त्यका लागि कृषक र उपभोक्तासम्म सिधा सम्पर्क हुनेगरि बजारको व्यवस्था गर्न चेम्बर अफ कमर्सले पहल गर्ने समेत बताए । मुलुकमा चरम व्यापार घाटा भईरहेको सन्दर्भमा अध्यक्ष मल्लले भुक्तानी सन्तुलनलाई कायम राख्नु सवैभन्दा ठूलो चुनौती भएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement